काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७: ३५ बजेको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
नेपालमा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विविध आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित कूटनीतिक संवाद, भारत व्यापार संवर्धन सङ्गठन र भारतीय उद्योग परिसंघका कार्यक्रमहरूमा सहभागी भई औद्योगिक घरानाहरूसँग छलफल गर्ने छन् । भ्रमणको अन्तिम दिन शनिबार दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भई उनी साँझ ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।
मन्त्री वाग्लेको नेतृत्वमा रहेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र निजी उपसचिव कञ्चन बस्नेत छन् ।






