काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँमा सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयलाई छलफलको मुख्य आधार बनाइएको छ।
बैठकमा पार्टी नेतृत्वले समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिका र आगामी दायित्वबारे धारणा राख्ने कार्यसूची तय गरिएको छ।
बैठकका लागि महाधिवेशन तथा विभिन्न तहका अधिवेशनको तयारी, सचिवालय र कार्यसमिति बैठक सञ्चालन, पार्टी तथा जनवर्गीय संगठनहरूको समायोजन र सदस्यता नवीकरणलगायतका विषय एजेन्डामा समेटिएका छन्। त्यस्तै, पार्टी संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विशेष संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल हुने भएको छ।
यसैगरी विभिन्न समूह तथा व्यक्तिलाई पार्टीमा समाहित गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ। बैठकको सुरुवात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणबाट गर्ने तय गरिएको छ भने संयोजक तथा सहसंयोजकले वर्तमान राष्ट्रिय परिस्थिति र पार्टीको दायित्वका विषयमा मन्तव्य दिने कार्यक्रमसमेत रहेको छ।
बैठकमा विविध विषयअन्तर्गत भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना तथा पुनर्निर्माण अभियानका विषयमा समेत छलफल हुने भएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे बैठकमा छलफल हुने जनाइएको छ।
केन्द्रीय कार्य संयोजन समितिको बैठकमा तय भएका एजेन्डामाथि छलफल गर्दै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा जनसरोकारका कार्यक्रमलाई थप व्यवस्थित बनाउने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।






