काठमाडौँ । लुम्बिनी प्रदेशमा सात उपसचिवसहित ८ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सचिवालयले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)स्थित बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन सेवाको सामान्य प्रशासन समूहअन्तर्गत नवौँ तहको उपसचिव (उपनिर्देशक) पदमा ७ जना कर्मचारीको बढुवा सिफारिस गरेको हो।
बढुवाका लागि सिफारिस हुनेमा शम्भु घिमिरे, कमला पौडेल पोखरेल, मुक्ति प्रसाद पाण्डे, सम्झना सुवेदी, गोविन्द प्रसाद पाण्डे, खगेश्वर घिमिरे र नवराज सुवेदी रहेका छन्।
त्यस्तै, स्थानीय सेवातर्फ कृषि सेवाको कृषि प्रसार समूहअन्तर्गत पाँचौँ तहको कृषि प्राविधिक पदमा महेन्द्र यादव बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिले प्रदेश निजामती सेवा ऐन तथा स्थानीय निजामती सेवा ऐनमा रहेको व्यवस्थाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरेको हो।
प्रदेश लोक सेवा आयोग, बुटवलबाट प्रकाशित बढुवा सम्बन्धी सूचनाका आधारमा रिक्त पदमा बढुवा समितिको निर्णयबाट सिफारिस गरिएका कर्मचारीको नाम सार्वजनिक गरिएको सचिवालयले जनाएको छ।







