काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडक खण्डमा यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मत तथा पुनः निर्माणको कामलाई तीव्रता दिएको छ।
सरकारले यही असोजभित्र उक्त सडक खण्डमा यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित क्षतिग्रस्त संरचनाको पुनः स्थापना र वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडक खण्डको आवश्यक मर्मत सम्पन्न भइसकेको छ। देवीघाट क्षेत्रमा क्षतिग्रस्त सडकमा एक्रो ब्रिजसमेत जडान गरिसकिएको छ।
विदुर क्षेत्रमा भने बाढीका कारण भत्किएको सडक खण्ड पुनः सञ्चालनका लागि नेपाली सेनाले ब्लास्टिङमार्फत ट्रयाक खोल्ने काम सुरु गरेको छ। सडकको अवरोध हटाएर यातायात सञ्चालनयोग्य बनाउन सेनाले आवश्यक काम अघि बढाएको हो।
यता, रसुवाको बेत्रावती क्षेत्रमा सडक पुनः स्थापनाका लागि आवश्यक बेलीब्रिज जडान गर्न फाउण्डेशन निर्माणको काम थालिएको छ। बेलीब्रिज जडान भएपछि उक्त क्षेत्रमा अवरुद्ध यातायात पुनः सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडक खण्डमा भने ठूलो समस्या नरहेको जनाइएको छ। स्याफ्रुबेँसी क्षेत्रमा एउटा बेलीब्रिज आवश्यक पर्ने देखिएकाले त्यसको जडानका लागि पनि तयारी अघि बढाइएको छ।
तर स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडक खण्ड बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सो क्षेत्रमा पुरानो सडकबाट तत्काल यातायात सञ्चालन गर्न कठिन भएपछि नयाँ सडक निर्माणका लागि सर्वेक्षणको काम सुरु गरिएको छ।
सरकारले तत्काल यातायात सञ्चालनका लागि आवश्यक अस्थायी संरचना निर्माणसँगै दीर्घकालीन समाधानका रूपमा यस क्षेत्रमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत गरेको छ। यसले बाढी पहिरोजस्ता विपद्का कारण पटक–पटक अवरुद्ध हुने सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउने लक्ष्य लिएको छ।






