काठमाडौँ। निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ। सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनमा अवरोध आएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
ल्याण्डफिल्ड साइटको प्रतिकूल अवस्थाका कारण केही समय फोहोर बिसर्जनको काम प्रभावित हुने भएकाले महानगरपालिकाले सर्वसाधारणलाई घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ।
महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएका बेला सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा खुला स्थानमा जथाभावी फोहोर नफाल्न पनि अनुरोध गरेको छ।
महानगरका अनुसार वर्षा कम भई सिसडोलस्थित ल्याण्डफिल्ड साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानीको काम नियमित गरिनेछ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा असहज अवस्था सिर्जना भएकाले केही समय धैर्य गरिदिन र सार्वजनिक स्थानमा फोहोर नथुपार्न नगरवासीलाई आग्रह गरेको छ।







