बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर-८ को कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई चालु आर्थिक वर्षका लागि परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ।
वडा कार्यालयले सूचना जारी गर्दै सामाजिक सुरक्षा ऐन, २०७५ तथा सम्बन्धित नियमावलीअनुसार असोज मसान्तभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने जनाएको हो।
गत आर्थिक वर्षमा यस वडाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका तर हालसम्म नवीकरणका लागि निवेदन नदिएका लाभग्राहीलाई तोकिएको अवधिभित्र वडा कार्यालयमा उपस्थित भएर नवीकरण गर्न कार्यालयले आग्रह गरेको छ।
तोकिएको अवधिभित्र नवीकरण नगरे लाभग्राहीको नाम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सूचीबाट स्वतः हट्ने वडा कार्यालयले जनाएको छ।
शारीरिक अशक्तताका कारण वडा कार्यालयसम्म आउन नसक्ने लाभग्राहीलाई भने यथाशीघ्र वडा कार्यालयमा सम्पर्क गरी नाम टिपाउन आग्रह गरिएको वडाध्यक्ष हरिस विष्टले बताएका छन् ।



