काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले कर्मचारी प्रशासनमा देखिँदै आएका विकृति अन्त्य गर्दै सरुवा, बढुवा र नियुक्तिलाई विधि तथा प्रणालीमा आधारित बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सरकारको पछिल्लो ६ महिनाको कामको समीक्षा गर्दै पराजुलीले कर्मचारी प्रशासनलाई निष्पक्ष, पारदर्शी र जबाफदेही बनाउन सरकारले काम अघि बढाइरहेको दाबी गरे।
उनले विगतमा कर्मचारीको सरुवा, बढुवा र नियुक्तिसम्म आर्थिक चलखेल तथा भागबन्डाका गुनासा सुनिँदै आएको उल्लेख गर्दै अब नागरिकले आफ्नो कामका लागि पहुँच खोज्नुपर्ने र कर्मचारीले अवसर पाउन पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
कर्मचारी सरुवामा डिजिटल प्रणालीको प्रयोगलाई उनले प्रशासनिक सुधारको महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे। उनका अनुसार कर्मचारी प्रशासनमा हुने निर्णयलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस्ता प्रणालीलाई संस्थागत गर्न आवश्यक छ।
पराजुलीले सचिवहरूसँग कार्यसम्पादनमा आधारित सम्झौता गरिएको विषय पनि सरकारको प्रशासनिक सुधारको प्रयासका रूपमा प्रस्तुत गरे। उनले विधि, निष्पक्षता र जबाफदेहितामा आधारित कर्मचारी प्रशासन निर्माण गर्न अझै काम गर्न बाँकी रहेको बताए।
सरकारले न्याय क्षेत्र, सुरक्षा संयन्त्र, कर्मचारी प्रशासनदेखि संवैधानिक निकायसम्म दलीय हस्तक्षेपबाट कमजोर बनेको प्रणालीलाई सुधार गर्ने प्रयास गरिरहेको उनको दाबी थियो। ‘नागरिकले कसैलाई चिन्नुपरेन, घुस दिनुपरेन र आफ्नो काम समयमै भयो भन्न सक्ने अवस्था निर्माण गर्नुपर्छ,’ पराजुलीले भने।
जायज कामका लागि कर्मचारी वा अन्य कुनै व्यक्तिले घुस मागेमा विवरणसहित जानकारी गराउन उनले आग्रहसमेत गरे।



