काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्टसेलसँग सम्बन्धित अनुसन्धानका विषयमा भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन तथा सम्प्रेषण नगर्न आग्रह गरेको छ।
सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको हक कायम भइसकेको स्मार्टसेलको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी राज्यको हक टुटाई संगठित रूपमा आपराधिक विश्वासघात तथा ठगी गरेको र एनसेल आजियाटाको शेयर खरिदबिक्रीसँग सम्बन्धित कसुरको अनुसन्धानसँग जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
ब्युरोका अनुसार उक्त कसुरको अनुसन्धान सम्पन्न गरी सम्बन्धित जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा अनुसन्धानबाट प्राप्त तथ्य तथा अनुसन्धानसँग सम्बन्धित विषयलाई अप्रमाणित रूपमा उद्धृत गरी समाचार प्रकाशन भइरहेको सीआईबीको भनाइ छ।
ब्युरोले विभिन्न सञ्चारमाध्यममा ‘अत्यन्त भ्रामक र तथ्यहीन’ समाचार प्रकाशन गरिएको दाबी गर्दै त्यस्ता समाचार प्रकाशन तथा सम्प्रेषण नगर्न आग्रह गरेको छ।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित विषयको अप्रमाणित विवरण प्रकाशन नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।



