कात्तिक ९ देखि मंसिर ५ गतेसम्म ठूला एलईडी स्क्रिनमार्फत खेलको प्रत्यक्ष प्रसारण गरिने, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन हुने।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न एक्सट्रीम इनर्जी ड्रिंकले देशका नौ सहरका १० स्थानमा नि:शुल्क फ्यान जोन सञ्चालन गर्ने भएको छ। क्रिकेटप्रेमीलाई रंगशालाबाहिर पनि सामूहिक रूपमा खेल हेर्ने अवसर उपलब्ध गराउने उद्देश्यले कम्पनीले फ्यान जोन सञ्चालन गर्न लागेको हो।
कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका खेल फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन्। कम्पनीका अनुसार सबै फ्यान जोनमा दर्शकले नि:शुल्क प्रवेश पाउनेछन्।
काठमाडौं उपत्यकाका तीन स्थानमा फ्यान जोन सञ्चालन हुनेछन्। काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा ठूलो स्क्रिनबाट खेल हेर्ने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।
त्यस्तै, उपत्यकाबाहिर धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा फ्यान जोन सञ्चालन गरिनेछ।
मधेश प्रदेशको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा पनि क्रिकेटप्रेमीले एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्।
फ्यान जोनलाई खेलको प्रत्यक्ष प्रसारणमा मात्र सीमित नराखी सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गर्ने कम्पनीको तयारी छ। ती स्थानमा सांगीतिक प्रस्तुति, विभिन्न खेलकुद गतिविधि र दर्शकको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछन्।
कम्पनीका अनुसार फ्यान जोनमा सहभागी दर्शकका लागि गिभअवे कार्यक्रमसमेत सञ्चालन गरिनेछ। उक्त कार्यक्रममार्फत दर्शकले विभिन्न उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
एनपीएलका खेल हेर्न रंगशालासम्म पुग्न नसक्ने क्रिकेटप्रेमीलाई आफ्नै सहरमा ठूलो स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण हेर्ने सुविधा उपलब्ध गराउनु फ्यान जोन सञ्चालनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
फ्यान जोनमार्फत विभिन्न सहरका समर्थकलाई एकै स्थानमा भेला भएर आफ्नो मनपर्ने टोलीको समर्थन गर्ने र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर उपलब्ध गराइनेछ।
एक्सट्रीम इनर्जी ड्रिंकले क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै संगीत र मनोरञ्जनात्मक गतिविधिलाई समेटेर एनपीएलको तेस्रो संस्करण अवधिभर फ्यान जोन सञ्चालन गर्ने जनाएको छ।




