काठमाडौँ । अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको एक किलो ३३८ ग्राम लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गाँजा बरामद गर्नुका साथै त्यसको ओसारपसारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
ब्युरोले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको गाँजा प्रहरीले नियन्त्रित वितरण विधि प्रयोग गरी बरामद गरेको थियो। उक्त विधिमार्फत लागु औषधको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादको आनन्द फ्लाट, वेजापुर ठेगाना भएका २३ वर्षीय भवरसिंह र गुजरातकै अहमदाबादस्थित अर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक किलो ३३८ ग्राम लागुऔषध गाँजा र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
ब्युरोका अनुसार लागुऔषध ओसारपसारसम्बन्धी विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा अमेरिकाबाट कुरियरमार्फत पठाइएको सामग्रीमा कागजातको आवरण प्रयोग गरी गाँजा ल्याइएको पाइएको हो।
त्यसपछि प्रहरीले नियन्त्रित वितरण विधि अपनाएर लागुऔषध बरामद गर्नुका साथै त्यससँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता, लागुऔषध पठाउने तथा प्राप्त गर्ने पक्ष र ओसारपसारसँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।





