काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन् । उनले यसबारेमा चिनियाँ पक्षलाई आफूले ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराए । चिनियाँ पक्षले आफैँले पनि जानकारी नपाएको कारण नेपाललाई जानकारी दिन नसकेको जवाफ दिएको उनको भनाई छ । नेपालतर्फ घटना भएकाले पनि चीनलाई समेत बाढीको पूर्वसूचना नभएको हुनसक्ने उनले बताए । चिनियाँ पक्षले पनि आफ्नै नागरिकलाई सूचना दिन नभ्याएको कारण धेरै जनधनको क्षति भएको जानकारी आफूलाई दिएको उनले बताए । बाढीको प्रकृति र घटनाको तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन नसकेको उनको भनाइ छ । घटना भइसकेपछि त्यसबारे विभिन्न प्रश्न उठाउनु स्वाभाविक भए पनि त्यसबेला पूर्वसूचना दिने पर्याप्त समय नरहेको उनले बताए ।
उनले भने, ‘मलाई लाग्छ त्यो सूचना उहाँहरूले प्राप्त गरेर उहाँहरूको मान्छेलाई पनि त्यो भन्न भ्याउनुभएको थिएन । चाइनिज साइडबाट हामीलाई भएको कुरा चाहिँ यही हो । उहाँहरूले नि त आफ्ना मान्छे बचाउनुहुन्थ्यो । त्यति सर्टेन हिसावले त्यो इन्सिडेन्ट भएको देखिन्छ, त्यसले गर्दा पूर्वसूचना दिने समय नै भएन । अब भइसकेपछाडि यस्तो भएको भए भन्ने कुरा त बेग्लै हो । तर त्यो सायद त्यति धेरै समय त्यहाँ थिएन होला । त्यसले गर्दाखेरि त्यो तत्कालको पूर्वसूचना आएको होइन । सूचना पाइसकेपछि तलको तटीय क्षेत्रमा हाम्रै प्रहरीहरूले पनि बाढी आउँदै छ भाग्नुस् भनेर चाहिँ माइकिङ गर्दै हिँड्या हो । तर त्यहाँको तटीय क्षेत्रमा बस्ने मान्छेहरूले त्यो पत्याउँदै पत्याउनुभएन । बाढी त सधैँ आएको हो नि भनेर उहाँहरू भाग्नुभएन । त्यसैले ठ्याक्कै त्यो बेला त्यही दिन नै सूचना सेयर चाहिँ भएको होइन, त्यसरी हाम्रो संयन्त्र पनि थिएन । तर मलाई लाग्छ त्यो यदि उनीहरूसँग पहिले नै त्यो जानकारी भएको भए, उनीहरूले कम्तीमा आफ्नो हिस्सा त बचाउन सक्थे नि, त्यो पनि भएन नि त । त्यसबाट स्विप्ट गएर जम्मै एकैचोटि गरेको न हो ।’
उनले बाढीको जानकारी पाएपछि तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी परिचालन गरी माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिए पनि कतिपयले अटेर गरेको बताए ।
नेपालको इतिहासमै यति ठूलो विनाशकारी प्राकृतिक विपद् विरलै भएको उल्लेख गर्दै उनले स्थानीयले पनि बाढीको भयावहता अनुमान गर्न नसकेको बताए । बाढी नियमित रूपमा आउने भएकाले यसपटकको बाढी पनि सामान्य हुन सक्ने ठानेर कतिपय स्थानीयले समयमै सुरक्षित स्थानमा जान ध्यान नदिएको उनको भनाइ छ ।




