काठमाडौँ। नागरिकतासम्बन्धी सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा स्याङ्जामा तत्कालीन प्रशासकीय अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घटनाको छानबिन गरी अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको झन्डै दुई महिनापछि उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेश विक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीका अनुसार जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ गते पठाएको पत्र तथा जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
नेपाल सरकार वादी र प्रयासी गुरुङसमेत प्रतिवादी रहेको लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने) मुद्दाको अनुसन्धानका क्रममा तीनै जनालाई कात्तिक १६ गते पक्राउ गरिएको डिएसपी अवस्थीले जानकारी दिए।
प्रहरीले स्याङ्जा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्यादसमेत प्राप्त भएको प्रहरीले जनाएको छ।
उक्त प्रकरणमा एक जना सर्वसाधारणसमेत प्रतिवादी रहेको र उनी हालसम्म पक्राउ पर्न बाँकी रहेको डिएसपी अवस्थीले बताए।
सरकारी अभिलेखमा अनधिकृत हेरफेर तथा किर्ते गरेको आरोपको वास्तविकता र घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




