काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले पहाडी जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन र बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।
प्रदेशका पहाडी जिल्लास्थित प्रहरी कार्यालयहरूको निरीक्षण तथा अनुगमनका क्रममा उनले अपराध नियन्त्रण, अनुसन्धान, प्रहरी परिचालन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी प्रमुख तथा मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्।
डिआइजी भट्टराईले कात्तिक १६ गते बाजुरा, १७ गते अछाम र १८ गते डोटी जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए। त्यसक्रममा उनले प्रहरी कार्यालयहरूको भौतिक पूर्वाधार, प्रशासनिक व्यवस्थापन, जनशक्ति परिचालन तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए।
निरीक्षणका क्रममा उनले प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता र जिम्मेवारीबोधलाई प्राथमिकता दिँदै नागरिकलाई छिटोछरितो, निष्पक्ष र प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।
विशेष गरी पहाडी जिल्लाका सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा चालक र यात्रुलाई लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले निर्देशन दिए।
बाजुरा निरीक्षणका क्रममा भट्टराईले भौगोलिक विकटता र सीमित स्रोतसाधनका बाबजुद सुरक्षा व्यवस्थापन तथा नागरिक सेवामा खटिएका प्रहरी कर्मचारीको भूमिकाको प्रशंसा गरे। उनले चुनौतीपूर्ण परिस्थितिमा पनि इमानदारी, अनुशासन र उच्च जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्न आग्रह गरे।
त्यसैगरी, अछाम र डोटीमा प्रहरी कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै उनले अपराध अनुसन्धान, कार्यालय व्यवस्थापन, प्रहरी परिचालन र नागरिकलाई प्रदान गरिने सेवाको अवस्थाबारे जानकारी लिएका थिए।
डिआइजी भट्टराईले नागरिकको जीउधनको सुरक्षा प्रहरीको प्रमुख जिम्मेवारी भएकाले सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान गरी आवश्यक सतर्कता अपनाउनुपर्ने बताए। शान्ति सुव्यवस्था कायम राख्न प्रहरी परिचालन प्रभावकारी बनाउनुका साथै समुदायसँगको समन्वयलाई समेत प्राथमिकता दिन उनले निर्देशन दिए।
प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सेवाग्राहीसँग मर्यादित व्यवहार, समयमै सेवा प्रवाह र जिम्मेवार कार्यसम्पादन आवश्यक रहेको उल्लेख गर्दै उनले मातहतका कार्यालयहरूलाई सेवा सुधारमा निरन्तर सक्रिय रहन निर्देशन दिएका छन्।




