काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णय अन्यायपूर्ण भएको बताएका छन् ।
प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको उल्लेख गर्दै उनले कार्कीले न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।
शनिबार काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै ‘प्रचण्ड’ले सरकारले कार्कीलाई पदबाट हटाउँदा अन्याय गरेको दाबी गरे । ‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने र उनको स्थानमा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सरकार जनताका समस्याभन्दा ‘झिलिमिलीमा रमाएको’ टिप्पणीसमेत गरे ।





