काठमाडौँ । सरकारले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाका घाइतेको उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रचलित कानुनबमोजिम उपचार खर्च, क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारी धनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी तीन जनाको चितवनको मनकामना अस्पताल र ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक सवारी बिहीबार बिहान भीमफेदी गाउँपालिका-६, चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जना छठ मनाउन घर जाँदै गरेका सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका यात्रु हुन् । चालक सर्लाहीकै कविलासी नगरपालिकाका बासिन्दा थिए ।
दुर्घटनाको कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई यस्ता दुर्घटना दोहोरिन नदिने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।






