काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-४, बाफलबाट हराएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।
प्रहरीका अनुसार कात्तिक २९ गते साँझ करिब ७ बजेर ४५ मिनेटमा बाफलस्थित मनमती करिडोरको सामुदायिक भवन नजिकैको खाली जग्गामा पार्किङ गरिएको बा.१ ज ९८०५ नम्बरको माइक्रोबस हराएको थियो।
गाडी हराएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा मङ्सिर २ गते कलंकीबाट माइक्रोबस फेला परेको प्रहरीले जनाएको छ।
गाडी फेला परेपछि अनुसन्धान अघि बढाएको प्रहरीले मङ्सिर ५ गते बिहान १० बजेर ३० मिनेटमा स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न रहेको आशंकामा तामाङ र लामालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





