काठमाडौँ । यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ७ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, ठुलो भर्याङ, चाबहिलबाट ५ जना र फर्जी स्वास्थ्य परीक्षण रिपोट बनाउने कार्यमा संलग्न २ गरी ७ जनालाई मङ्गलवार उपत्यका प्रहरी कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सिताराम रीजालका अनुसार निजहरूले विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौ, छिटो छरितो रूपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरू पुर्याइदिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी हैरानी दिने गरेका थिए ।







