काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयंसेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले चासो देखाएका छन् ।
बिहीबार समिति सभापति रामहरि खतिवडाले मानव अधिकारको हनन हुने गरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् ।
सभापति खतिवडाले ट्राफिक स्वयंसेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए । खतिवडाले फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउने पद्धति गलत भएको बताए ।
गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयंसेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा आइसकेको छ ।







