काठमाडौँ । अधिकृत रेवा रावतले चलाएको गाडीले ठक्कर दिँदा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको गाडी अधिकृत रावतले चलाएकी थिइन् ।
तुलसीपुर-६ सुकौरा रोडको पानी ट्यांकी नजिकै तुलसीपुर उपमहानगरपालिकाको रा १ झ १४२ नम्बरको गाडीले प्र.२००१ प १६७९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ठक्करबाट स्कुटी चालक तुलसीपुर-५ का ४२ वर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ वर्षकी प्रिन्स बुढाथोकी घाइते भएका हुन् । शंकरको खुट्टामा र प्रिन्सको टाउको, छाती, मुख र निधारमा चोट लागेको छ । घाइते दुवैको उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
रावतलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । उनले चालकलाई साथमै राखेर गाडी सिक्न लागेको बेला दुर्घटना भएको बुझिएको छ ।