काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालका केही जिल्लालाई लिजमा अर्को देशलाई दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रतिनिधि सभाको आइतबारको बैठकमा हंगामा भएको छ। विनियोजन विधेयक, २०८२ को छलफलका क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिनुपर्ने बताएपछि नेकपा (एमाले) का सांसदहरूले तीव्र विरोध जनाए।
सिंहको उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ र ‘आपत्तिजनक’ भन्दै एमाले सचेतक महेश बर्तौलाले कारबाहीको माग गरे। “यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। यो रेकर्डबाट हटाइयोस् र कारबाही होस्,” उनले भने। सत्ता पक्षका अन्य सांसदहरू पनि सिटबाट उठेर विरोधमा उभिए।
विवाद चर्किएपछि सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्ति राष्ट्रहितविपरीत र असंसदीय भएको ठहर गर्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। “माननीय सांसदले अरू मुलुकको नाम लिएर नेपालको भूमि लिजमा दिनुपर्छ भन्ने कुरा बोल्नुभएको छ। यो असंसदीय भाषा हो। यसलाई रेकर्डबाट हटाउन आदेश दिन्छु,” सभामुखले भने।
यसैबीच, सांसद सिंहले आफ्नो अभिव्यक्तिमाथि भएको विरोधप्रति आक्रोश व्यक्त गरे। उनले बजेटमा आफ्नो क्षेत्रमा रकम नपरेको र संसदमा बोल्नसमेत नदिइएको भन्दै असन्तुष्टि जनाए।







