काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारीमा हेरफेर गरेको छ। मन्त्रालयले नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत सहसचिव आनन्द काफ्लेलाई रिक्त रहेको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारीसहित मन्त्रालयको प्रवक्ता नियुक्त गरेको हो।
यसअघि सो जिम्मेवारीमा रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकका रूपमा खटाइएपछि प्रवक्तासहितको उक्त महाशाखा खाली रहँदै आएको थियो।
सुरक्षा तथा समन्वय महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयसम्बन्धी कार्यहरू हेर्ने जिम्मेवारी बोकेको छ।
यस्तै, केही दिन अघि मात्र अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त महाशाखाले विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ, शान्ति प्रवर्धन, विपद् पूर्व तयारी तथा प्रतिकार्य / राहत तथा तथ्यांक व्यवस्थापन जस्ता कार्यहरू सम्हाल्दै आएको छ।
पछिल्लो समय गृह प्रशासनमा खटनपटनमा ढिलाइ हुनुका साथै कार्यक्षमता र वरिष्ठतालाई बेवास्ता गरिएको भन्ने टिप्पणीहरू पनि सार्वजनिक रूपमा सुनिन थालेका छन्। मुलुकको शान्ति सुरक्षाजस्तो अति संवेदनशील र जिम्मेवार क्षेत्र सम्हाल्ने मन्त्रालयले यस्ता विषयप्रति गम्भीर ध्यान दिनुपर्ने सरोकारवाला अधिकारीहरू बताउँदै आएका छन्।






