काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई जोगाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल मार्फत थापाले तोकिएकै समयमा निर्वाचन गराउने वातावरण निर्माण गरिनुपर्ने मत सार्वजनिक गरेका छन्।
‘भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौँ’, थापाले लेखेका छन्।
उनले निर्वाचनको तयारी सँगसँगै पार्टी पुनर्गठन पनि गरिनुपर्ने बताएका छन्।
‘पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौँ’ उनले भनेका छन्, ‘जेन जेड आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरुरी छ।’
पार्टी पुनर्गठनका क्रममा आफू महामन्त्री पद त्याग्न समेत तयार रहेको घोषणा गरेका छन्।
‘यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल सुरु गरौँ। स्वीकार गरौँ(गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्यांकन र आत्मसंकल्प गरौँ’, उनले लेखेका छन्।







