काठमाडौँ । कम्प्युटर विज्ञ काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा सूचीकृत भएका छन् ।
हालै स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरद्वारा प्रकाशित सूचीमा कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्ग्स, गहिरो शिक्षण र सम्बन्धित क्षेत्रमा उनले गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिँदै उनी अटाएका हुन् ।
यो सूचीलाई वैज्ञानिक क्षेत्रमा सबैभन्दा विश्वसनीय र कठोर मापदण्डमा आधारित विश्वव्यापी मूल्याङ्कन मानिन्छ। संसारभरका लाखौँ अनुसन्धानकर्ताको डाटा संकलन गरी उनीहरूको कार्यको प्रभावकारिता जाँचिन्छ ।
डा. झाको यो उपलब्धिले नेपालमा बसेर पनि विश्वस्तरीय अनुसन्धान सम्भव रहेको, नेपाली युवालाई विज्ञान र प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहित गरेको साथै सरकारी तहमा वैज्ञानिक निर्णयहरूमा विज्ञ परामर्श लिन सहज हुने विश्वास गरिएको छ ।
२३ वर्षभन्दा बढी अध्यापन, अनुसन्धानसम्बन्धी अनुभव बोकेका डा. सयभन्दा बढी अनुक्रमित शोधपत्र प्रकाशित गरेका छन् । त्यस्तै १० वटा पुस्तक लेखेका वा सम्पादन गरेका छन्, भने, ३ वटा पेटेन्ट उनको नाममा दर्ता छन् ।







