काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा फरार भएका कैदी बन्दीहरूलाई बाँके प्रहरीले खोजी र पक्राउ गर्न सुरु गरेको छ ।
फरार कैदी बन्दीहरूलाई आफैँ हाजिर हुन आह्वान गरेको प्रहरीले आफैँ उपस्थित नभएपछि खोजी र पक्राउ गर्न थालेको हो ।
जेनजी प्रदर्शनको प्रदर्शनको मौकामा बाँकेको नौबस्ता कारागारबाट भागेर फरार रहेका नेपालगन्ज ९ काँकेगाउँका ज्यान मार्ने उद्योग मुद्दामा थुनुवा रहेका २६ वर्षीय हरकेश खाटिक र खजुरा ६ सिमलघारीका लागू औषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकिएका २३ वर्षीय मनोज चंदरालाई पक्राउ गरी नौबस्ता कारागारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै कोहलपुर ३ मैटहवाबाट मुगु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी जिल्ला मुगु सोरु ३ का ४५ वर्षीय डिलबहादुर धामीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ ।







