काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
सोमबार साँझ काठमाडौँको स्यूचाटारस्थित केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरू लगायतका विषयमा जानकारी लिएका हुन् ।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बनाउन आवश्यक नीतिगत एवम् प्राविधिक सुधारका विषयमा छलफल गरेका थिए ।
बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।
उनले विद्युतगृह, प्रसारण लाइन तथा सब स्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी, हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई पनि आग्रह गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही बमोजिम काम भइरहेको बताए ।







