काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध घुस र भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार महोत्तरी क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत उपभोक्ता समितिहरूको खातामा जम्मा भएको रकम निकालेर आफ्नो र श्रीमती सरिता कुमारी महतो सिंहको संयुक्त खातामा राख्ने कार्य गरेको प्रमाण भेटिएको छ। सो क्रममा उनले विभिन्न उपभोक्ता समितिहरूबाट जम्मा गरिएको करिब रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ (झण्डै २८.२५ प्रतिशत) घुस कमिसनको रूपमा लिएको आरोप छ।
आयोगका अनुसार उक्त रकम प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित बजेटबाट निर्माण तथा सौन्दर्यकरणका कार्यका लागि महोत्तरी जिल्लाका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकामा गठन भएका विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा गरिएको थियो।
आरोप पत्रमा सरोज कुमार सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीसमेतलाई समेत प्रतिवादी बनाइएको छ।
आयोगले उनीहरू सबैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसुर गरेको भन्दै कानूनी सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।







