काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।
बुधबारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार केन्द्रीय समितिका ३ सय ६७ जना केन्द्रिय सदस्यहरू रहेकोमा १ सय ८४ जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् । उनीहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना राय राखेका हुन् ।
प्रस्तुत रायहरूमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनः स्थापना गर्नुपर्ने, पुनर्स्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्याउनुपर्ने विषय उठेको उनले बताए ।
अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एक मात्र सहज बाटो संसद पुनः स्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए ।
सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको उनले बताए ।
सरकारले राजनीतिक दलहरूलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरूमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको उनको भनाइ छ ।







