काठमाडौँ । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-ह्याम्दीले द्वन्द्वको दिगो समाधानका लागि संवाद नै एकमात्र विकल्प भएको धारणा व्यक्त गरेकी छन्।
विभिन्न ४८ गैरसरकारी संस्थाको सहकार्य र ऐक्यबद्धतामा आज यहाँ आयोजित ‘नेपाल संवाद पहल’को उद्घाटन कार्यक्रममा उनले विगतको नेपालको द्वन्द्व शान्तिपूर्ण संवादबाटै अन्त्य भएको बताइन्।
उनले राष्ट्र संघले आर्थिक रूपान्तरण, समावेशी मानव विकास, वातावरणीय दिगोपन, तथा संघीयता, मानव अधिकार, लैंगीक समानता र सामाजिक सुरक्षा प्रवर्द्धन गर्ने लक्ष्यका साथ लोकतान्त्रिक संस्थाहरू सुदृढीकरणसम्बन्धी कार्यक्रमको विस्तृत दायरामा सहयोग गर्दै आएको बताइन् ।
कार्यक्रममा पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले विभिन्न दृष्टिकोण, विभिन्न सोच, विभिन्न वर्गका मानिसलाई ल्याएर कम्तीमा एउटा न्यूनतम साझा सहमति बनाउनु नै संवादको मुख्य उद्देश्य भएको बताए । उनले संवाद लोकतन्त्रको मुटु र आत्मा भएको बताउँदै आज विश्वका असफलताहरूको मूल कारण नै संवाद गर्न अनिच्छा हुनु भएको उल्लेख गरे ।
जिआइजेड नेपालका नागरिक शान्ति सेवाका कार्यक्रम संयोजक इभा ग्याडेररले बढ्दो ‘कनेक्टिभिटी’ले नयाँ द्वन्द्वहरू पनि जन्माउन सक्ने उल्लेख गर्दै हामी सधैँ रचनात्मक रहनुपर्ने र एक अर्कासँग बोल्ने, सुन्ने र सम्बन्ध बाँध्ने प्रक्रियामा जोडिएर संवाद गर्नुपर्ने बताए ।
त्यस अवसरमा अभियन्ता स्टेला तामाङले संवादको दायित्व केबल राजनीतिक नेतृत्वको मात्र नभई यो एक सामूहिक प्रयास भएको र त्यसका लागि समुदायका अगुवादेखि युवाहरू, वृद्ध, महिला, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायका सदस्यसम्म सबैको सक्रिय सहभागिता आवश्यक रहेकामा जोड दिए ।
साथै उनले संवादलाई राजनीतिक, सामुदायिक र व्यक्तिगत सबै तहमा प्रवर्द्धन गर्न सकियो भने मात्र अपेक्षाकृत रूपमा अगाडि बढ्न सकिने उल्लेख गरे ।
नेपाल संवाद पहलका संयोजक शरद न्यौपानेले कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्देश्य र उपलब्धिबारे अवगत गराएका थिए ।
दुई दिनसम्म विभिन्न सत्रका कार्यक्रमसहित सञ्चालन हुने सम्मेलनमा देशभरका विभिन्न गैरसरकारी संस्थाका १५० बढी प्रतिनिधिको सहभागिता रहेको छ ।







