काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह मिल्नु कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्ने कुरा काँग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए ।
राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको बताए ।
‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् ? राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौती हो । हरेक चुनौतीको सामना गर्न तयार भएको काँग्रेसले राणाकालीन चुनौती, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को-को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’ उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।







