धनुषा । जनकपुरधाममा प्रदेशस्तरीय मधेस प्रदेश सुरक्षा गोष्ठी आजदेखि सुरु भएको छ। गोष्ठीको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् ।
उद्घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ।
गोष्ठीमा प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, सीमा सुरक्षाका चुनौती, आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा सुरक्षा निकायबीचको अन्तर समन्वयका विषयमा छलफल भइरहेको छ। कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले मधेस प्रदेशको भौगोलिक र सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै प्रभावकारी तथा समन्वयात्मक सुरक्षा रणनीति आवश्यक रहेको बताएका छन्।
गोष्ठीबाट प्राप्त सुझावका आधारमा सीमा क्षेत्रमा सुरक्षा समन्वय थप सुदृढ बनाउने, स्थानीय तहसँग सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने तथा अपराध नियन्त्रणका लागि संयुक्त कार्ययोजना अघि बढाउन सरकारलाई सिफारिस गरिने आयोजकले जनाएको छ।







