काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। “स्वदेशमै बसौँ, स्वदेशमै काम गरौँ” भन्ने नगरपालिकाको दीर्घकालीन नीतिलाई कार्यान्वयन गर्दै नगरपालिकाले योग्य र इच्छुक युवालाई लक्षित गरी उक्त कार्यक्रम अघि बढाएको हो।
नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगले निर्धारण गरेका पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन गरिनेछ। तयारी कक्षामार्फत सार्वजनिक सेवामा प्रवेशको लक्ष्य राखेका युवालाई व्यवस्थित मार्गदर्शन, अनुशासित अध्ययन वातावरण र प्रभावकारी तयारीको अवसर प्रदान गर्ने नगरपालिकाको अपेक्षा छ।
कार्यक्रममा सहभागी छनोट गर्दा प्राथमिकताका स्पष्ट आधार तोकिएका छन्। पहिलो प्राथमिकतामा बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने स्थानीय बासिन्दा पर्नेछन्। दोस्रो प्राथमिकतामा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदाय, एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा विपन्न नागरिकहरू समेटिनेछन्। तेस्रो प्राथमिकतामा नगरपालिकाभित्र अस्थायी रूपमा बसोबास गर्ने तथा अन्य जिल्लाबाट आवेदन दिने उम्मेदवारलाई समावेश गरिनेछ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अनलाइन वा प्रत्यक्ष (फिजिकल) माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित शैक्षिक योग्यताको प्रमाणपत्र, शिक्षक सेवा आयोगतर्फका उम्मेदवारको हकमा अध्यापन अनुमति पत्र, पासपोर्ट साइजको फोटो लगायतका आवश्यक कागजात संलग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
उमेर हदका आधारमा आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा भने ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
नि:शुल्क रूपमा सञ्चालन गर्न लागेको यस तयारी कक्षाबाट युवाको क्षमता अभिवृद्धि भई स्वदेशमै रोजगारी, सार्वजनिक सेवामा पहुँच र सम्मानित भविष्य निर्माणमा टेवा पुग्ने विश्वास लिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाद्वारा जारी सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारहरूले सूचनामा उल्लेखित क्युआर कोड स्क्यान गरेर वा गुगल फर्म लिंकमार्फत आवेदन दिन सक्नेछन्।







