काठमाडौँ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य अवस्थाको प्रक्रिया नभई विशेष परिस्थितिबाट उत्पन्न राजनीतिक अभ्यासका रूपमा चित्रण गरेका छन्।
पार्टीको निर्वाचन केन्द्रित विशेष भेलालाई सम्बोधन गर्दै उनले वर्तमान निर्वाचनलाई देशको अवस्थासँग जोडेर व्याख्या गरेका हुन्।
दाहालका अनुसार निर्वाचनको माध्यमबाट मुलुकलाई अस्थिर र जोखिमपूर्ण अवस्थाबाट जोगाउने प्रयासस्वरूप यो प्रक्रिया अघि बढेको हो। आकस्मिक र असाधारण परिस्थितिमा आएको निर्वाचन भएकाले यसलाई सामान्य रूपमा बुझ्न नहुने उनको भनाइ छ।
उनले विभिन्न प्रकारका प्रतिक्रियावादी प्रवृत्ति, बाह्य प्रभाव र षड्यन्त्रलाई परास्त गर्न नयाँ राजनीतिक पहलकदमी आवश्यक भएको उल्लेख गरे। यही आवश्यकता महसुस गर्दै विभिन्न कम्युनिस्ट तथा समाजवादी धाराहरूलाई एकीकृत गरी नयाँ राष्ट्रिय शक्ति निर्माणतर्फ पार्टी अगाडि बढिरहेको बताए।
दाहालले पार्टी विस्तारको क्रममा हाल २३ वटा घटक एकताबद्ध भइसकेको जानकारी दिँदै आफू ७२ वर्षको उमेरमा पनि सक्रिय रूपमा योगदान गर्न तत्पर रहेको स्पष्ट पारेका छन्।







