काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा सदस्य निर्वाचन जसले जिते पनि अन्ततः जनताकै जित हुने बताएका छन्।
साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन्। उनले बिहीबार धरान–१८ स्थित कारमेल स्कुल मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
“जसले जिते पनि जनताले जित्ने हो। मैले जित्छु भन्ने कुरा मौन अवधि अघिसम्म मात्रै हो,” उनले भने।
साम्पाङले निर्वाचनको परिणाम जे भए पनि लोकतन्त्र हार्न नहुने उल्लेख गरे। “जो हारे पनि लोकतन्त्रको हार हुनु हुँदैन। जनताले जित्नुपर्छ, लोकतन्त्रले जित्नुपर्छ,” उनले भने।







