काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान कार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन्।
गृह मन्त्रालयले जारी गरेको धन्यवाद सन्देशमा सम्माननीय राष्ट्रपतिले दिएको निर्देशन र सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सबै पक्षको सहयोगका कारण देशभर एकै चरणमा सम्पन्न मतदान कार्य सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरिएको छ।
प्रधानमन्त्रीले अघि सारेको “एक थोपा पनि रगत नबगाई निर्वाचन गर्ने” अभियानअनुसार मतदान कार्य समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरेका छन्।
लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम प्रक्रिया भएको उल्लेख गर्दै मन्त्रालयले यस निर्वाचनमार्फत संविधान कार्यान्वयन तथा नेपाली जनताले प्राप्त गरेका अधिकारहरूको संस्थागत गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ।
निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा खटिएका निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति गृहमन्त्री अर्यालले हार्दिक आभार व्यक्त गरेका छन्।
साथै मतदानपछिको मतगणना कार्यलाई पनि सकारात्मक वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षसँग सहयोग र सहकार्य गर्न अनुरोध गरेका छन्।
गृहमन्त्री अर्यालले स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न देशभरका मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त गरेको बताएका छन्। मतदानमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गरेका छन्।







