छिटो उत्पादन, कम लागत र स्वाद पनि मिठो बनाउने उद्देश्यले हाम्रा खानेकुरामा मन्द विष अर्थात् ट्रान्स फ्याटको प्रयोग बढिरहेको छ जसले जनस्वास्थ्यमाथि नै संकट निम्त्याउँदै छ । उत्पादकको लापरवाही र नियामक निकायको हविगत दुबैलाई उदांगो पार्ने यो अपराध कसरी भइरहेको छ ?
काठमाडौँ । पटक-पटक चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र छाती पनि पोल्ने समस्या बढ्दै गएपछि २७ वर्षीया सरस्वती रेग्मीले केही समय अघि स्वास्थ्य जाँच गराइन् । सरस्वतीको स्थायी ठेगाना दोलखा हो । तर उनी केही वर्षयता काठमाडौँको नयाँ बानेश्वरमा बसिरहेकी थिइन् ।
त्यस क्रममा थाहा भयो, उनको मुटुमा प्वाल परेको रहेछ। अधबैँसे उमेरमा मुटुमा प्वाल परेको भेटिनु सामान्य स्वास्थ्य समस्या होइन । त्यही कारण हुनसक्छ, चिकित्सकले उनलाई मुटुको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् ।
एक त जटिलमध्ये मानिने मुटुको शल्यक्रियाको जोखिम, त्यसमाथि महँगो मुटु उपचारमा लाग्ने खर्च । सरस्वतीका लागि धेरै तनाव एकैपल्ट थपिएका छन् । उनलाई जन्मजात नै मुटु सम्बन्धी केही समस्या थिएन । हुर्कँदै गएपछि मुटुमा कुनै समस्या भएको पनि उनलाई थाहा छैन । त्यसो भए अहिले शल्यक्रिया नै गर्नुपर्ने खालको समस्या पैदा भयो चाहिँ कसरी ? विश्व स्वास्थ्य संगठनका अनुसार मुटुको धमनी बन्द भएर प्वाल पर्ने र हृदय घात हुने समस्याको प्रमुख कारण ट्रन्सफ्याट हो।
जनस्वास्थ्य विज्ञका अनुसार यसको प्रमुख कारण हाम्रा खानेकुरामा प्रयोग भइरहेको मन्द विष अर्थात् ट्रान्स फ्याट हो । श्रीमानको कमाईले मात्र परिवार पाल्न समस्या भएपछि सरस्वती झोला बनाउने कम्पनीमा काम गर्थिन् । दिनभरको कामले प्रायः लखतरान हुने उनलाई यो दैनिकीबिच खानाको जोहो गर्न निकै सकस हुन्थ्यो । त्यसैले उनी प्रायः बाहिरकै खाजा र खाना खान्थिन् ।
“कारखानामा घरबाट खाजा वा खाना लैजान सम्भव हुन्न, बच्चा पनि सानै छन्,” सरस्वतीले सुनाइन्, “बाहिर खाजा सजिलै पनि पाइने, चिल्लो, पिरो र स्वादिलो पनि हुने हुँदा म त्यसमै रमाएँ । तर स्वास्थ्यका लागि यो असाध्यै घातक हुन्छ भन्ने थाहै थिएन । सजिलो र सस्तो हेरेर त्यही खानेकुरा खाइयो । त्यसैले मलाई मुटु रोगी बनायो ।”
हेर्दा आकर्षक, स्वाद पनि लोभ्याउने खालको हुने यस्ता खानेकुराले धेरैलाई यसै गरी लठ्याउँने गर्छन् । विभिन्न खालका ‘फुड कलर’ हालेर र गुणस्तरहीन तेलमा तारेर बनाइएका खानेकुरा हेर्दा पनि आकर्षक हुन्छन् नै । भोकले रन्थनिएका बेला जोकोहीको आँखा रेस्टुराँ वा सडकछेउका ठेलामा पनि यस्तै खानेकुरामा पर्छन् । आँखा र जिब्रो दुवैको स्वादमा ध्यान दिएर बनाइएका यस्ता खानेकुरामा रमाउने उपभोक्तालाई त्यसमा कुन-कुन तत्त्व मिसिएको छ भन्नेबारे खास मतलब पनि नहुँदो रहेछ । सरस्वतीलाई पनि त्यस्तै भएको थियो । जबकि, यस्तो खानामा प्रयोग भएका तत्त्वमा निकट भविष्यमै स्वास्थ्य अवस्था तहसनहस पार्न सक्ने क्षमता हुन्छ ।
थाहै नपाई फैलिइरहेको सुषुप्त महामारी
हेर्दा आकर्षक देखिने गरी बनाइएका, स्वाद पनि मिठो हुने बनिबनाउ (तयारी) खाना अर्थात् फास्ट-फुड र जंक फुड हुन् या एउटै तेलमा पटक-पटक तारेर बनाइएका खानेकुरा, तिनमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुने गरेको छ । खास गरी नेपालका सहरी क्षेत्रमा न्यून तथा मध्यम आय भएका व्यक्ति-परिवारका लागि ट्रान्स फ्याटयुक्त खाना नै प्रमुख खान्की बन्न पुगेका छन् । कामकाजी र व्यस्त जीवनशैलीका मानिस र स्कुल-कलेज पढ्ने विद्यार्थीमाझ त ट्रान्स फ्याटजन्य खानेकुरा असाध्यै प्रिय बनेको देखिन्छ । पछिल्लो समय उपभोक्ताहरू यस्तो स्वादमा रमाउने प्रवृत्ति झन्–झन् बढ्दो छ र ट्रान्स फ्याट गाउँसम्म बिस्तार भएको छ ।
यसले निम्त्याइरहेका गम्भीर स्वास्थ्य समस्याका नालीबेली केलाउनुअघि ट्रान्स फ्याट के हो भनेर हेरौँ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार ट्रान्स फ्याट असाध्यै हानिकारक चिल्लो पदार्थ हो जो प्राकृतिक र औद्योगिक गरी दुई प्रकारको हुन्छ । ट्रान्स फ्याटलाई नेपालीमा के भन्ने भनेर अहिलेसम्म ठ्याक्कै शब्द पहिचान गरिएको छैन । तर यसलाई छोटकरीमा ‘अखचि’ भन्ने गरिन्छ । राँगा, भैँसी, खसी, बोका जस्ता जनावरको रातो मासु तथा दूध र दहीबाट बनेका परिकारमा ३ देखि ९ प्रतिशतसम्म प्राकृतिक ट्रान्स फ्याट पाइन्छ ।
सीमित मात्रामा सेवन गर्दा प्राकृतिक स्रोतबाट प्राप्त ट्रान्स फ्याटले स्वास्थ्यमा त्यति ठुलो नकारात्मक असर नगर्ने विज्ञहरू बताउँछन् । तर खाद्य उद्योगमा उत्पादन हुने कृत्रिम अर्थात् औद्योगिक ट्रान्स फ्याट भने असाध्यै खराब र स्वास्थ्यका लागि अत्यन्तै खतरनाक हुन्छ । वनस्पति घिउलाई उच्च तापक्रममा तताउने, अनि आंशिक रूपमा हाइड्रोजन मिसाएर बनाइने यस्तो चिल्लो पदार्थ सामान्य तापक्रममै पनि जम्ने गर्छ । नेपालमा उत्पादन हुने वनस्पति घिउ, सर्टनिङ, मार्गारिन तथा बेकरी सामग्रीमा प्रयोग हुने चिल्लो पदार्थ औद्योगिक ट्रान्स फ्याटका प्रमुख स्रोत हुन् ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानले ट्रान्स फ्याट निर्मलीकरण परियोजना सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानका कार्यक्रम निर्देशक डा. प्रेमराज वैद्यका अनुसार ट्रान्स फ्याट अत्यन्तै हानिकारक चिल्लो पदार्थ हो, जसको अत्यधिक प्रयोगबाट क्यान्सर, मुटु रोग, हृदय घात, मधुमेह, मस्तिष्क घात, मिर्गौला रोग, मोटोपन, महिलामा स्तन क्यान्सरलगायतका नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् । अनि त्यसले जनधनको ठुलो क्षति निम्त्याइरहेको छ ।
डा. वैद्यका अनुसार ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ । अर्कोतर्फ रगतमा हुनुपर्ने असल कोलेस्ट्रोल घटाउने काम गर्छ । अनि यसले रक्तनली भित्र रगत जम्ने सम्भावना ह्वात्तै बढाइदिन्छ जसले हृदयाघात र मस्तिष्क घात जस्ता गम्भीर समस्याको जोखिम अत्यधिक बढाउँछ । नेपालमा ट्रान्स फ्याटबारे कानून बने पनि त्यसको कार्यान्वयनबारे हुनुपर्ने जति चासो र चर्चा छैन जसका कारण डा. वैद्य चिन्तित छन् ।
खुला रूपमा बिक्री हुने स्ट्रिट फुड वा साना होटेलमा प्रयोग हुने तेलमा कुनै लेबल राखिएको हुँदैन । अथवा लेबल राखिएको तेल प्रयोग नै गरिँदैन । उपभोक्ताले कुन तेल प्रयोग भयो, त्यसलाई कति पटक तताइयो वा त्यसमा ट्रान्स फ्याटको मात्रा कति छ भनेर जान्ने कुनै पनि आधार हुँदैनन् ।
प्याकेट बन्द खाद्य वस्तुमा पनि कतिपयमा लेख्न त ‘शून्य ग्राम ट्रान्स फ्याट’ लेखिएको होला, तर सर्भिङ साइज सानो राखेर वास्तविक मात्रा लुकाइने अभ्यास अन्तर्राष्ट्रिय रूपमै पनि परिचित छ । जस्तो, ‘पार्सियली हाइड्रोजेनेटेड आयल’ जस्ता प्राविधिक शब्द प्रयोग हुँदा पनि सामान्य उपभोक्ताले जोखिम पहिचान गर्न सक्दैनन् । स्वादिलो देखिने खाना नै स्वास्थ्यकर पनि हुन्छ भन्ने भ्रम अझै व्यापक छ नै ।
सोच्नुस् त, तपाईँको थालमा यति खतरनाक तत्व यदि देखिँदैन वा तपाईँ त्यसलाई देख्न सक्नुहुन्न भने त्यसको जिम्मेवार हो चाहिँ को ?
पटक-पटक प्रयोग गरिएको तेलमा तारेर बनाइएका खानेकुरा, प्याकेटमा आउने तयारी खानेकुरा, बेकरीका विभिन्न सामग्री र फास्ट-फुड लगायतका खाद्य पदार्थमा पाइने ट्रान्स फ्याटले मधुमेह, मुटुरोग र उच्च रक्तचापजस्ता समस्या बढाउने विभिन्न अध्ययनबाट प्रमाणित तथ्य हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार प्रत्येक वर्ष ३ करोड ६० लाखभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । ट्रान्सफ्याटबाट निम्तिने मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग नै अकाल मृत्युको मुख्य कारण बनिरहेका छन् । नेपालमा ठ्याक्कै आँकडा नभए पनि वर्षेनी करिब २ हजार मानिसको मृत्युमा ट्रान्स फ्याट कारण बनेको देखिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नसर्ने रोगहरूबारे गरेका पछिल्ला सर्वेक्षणले नेपालमा पछिल्ला वर्षहरूमा मुटुरोग, मधुमेह र उच्च रक्तचापका केस निरन्तर बढिरहेको देखाउँछन् । सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत प्याकेट बन्द र अति-प्रशोधित खाद्य पदार्थको पहुँच विस्तार भएको, खानपानको यो ढाँचामा भएको परिवर्तन नसर्ने रोगको बढ्दो दरसँग प्रत्यक्ष सम्बन्धित रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
यसको पासोमा परेर दीर्घ रोग र जटिल स्वास्थ्य समस्यामा पुगेका नेपालीको संख्याबारे त केही लेखाजोखा नै छैन । यसले कसरी जकड्दै छ भन्ने बुझ्न केही उदाहरण हेरौँ ।
दोलखाको भिमेश्वर नगरपालिका-७ का शोभित शाह (२९) काठमाडौँको वसन्तपुर बस्नथालेको ५ वर्ष भयो । बिजुली पसलमा काम गरिरहेका शोभितलाई केही समय पहिले उच्च रक्तचापको समस्याले सतायो । सबै जाँच गरेपछि चिकित्सकले उनलाई तेलमा तारेका खानेकुरा, चिल्लो पदार्थ धेरै मिसिएका र जंक फुड बन्द गर्न सल्लाह दिए ।
चिकित्सकको सल्लाह बमोजिम शोभितले आफ्नो खानपानमा बदलाव ल्याइसकेका थिए। तर केही समयपछि खुट्टा सुन्निने समस्या देखिएपछि उनी फेरि जँचाउन गए । यसपालि त उनको मिर्गौलामै समस्या देखियो । “बाहिरका चिल्लो खानेकुरा र जंक फुड बन्द गरे पनि मिर्गौलामा समस्या भइसकेको रहेछ,” शोभित भन्छन्, “डाक्टरले ब्लड प्रेसरको समस्या देखिएको केही समयमै मिर्गौलामा पनि समस्या देखियो भन्नुभयो ।”
अहिले उनलाई नियमित रूपमा डायलिसिस गर्नुपर्छ । सरकारले डायलिसिस सेवा नि:शुल्क गरे पनि त्यसक्रममा हप्तामै करिब ३ हजार ५०० रुपैयाँ खर्च हुन्छ । शोभितका लागि यो चानचुने खर्च होइन । किनभने यसले परिवारको आर्थिक चक्र नै खलबल्याइदिएको छ ।
शोभित जस्तै सिन्धुलीको मरिण गाउँपालिका-१ का छविलाल भुल केही समयदेखि हातखुट्टा दुख्ने, शरीर गल्ने जस्ता समस्यासँग जुधिरहेका थिए । ५३ वर्षीय छविलाल यसलाई सामान्य दुखाइ ठानेर ‘बिस्तारै बिसेक भइहाल्ला नि’ भन्दै बसे । तर समस्या बिसको उन्नाइस भएन । बरु बढ्न थाल्यो । दुखाइले सताउँदै गएपछि उनी काठमाडौँको निजामती अस्पताल (सिभिल हस्पिटल) आइपुगे । स्वास्थ्य जाँचपछि उनलाई मधुमेह भएको पुष्टि भयो ।
“मलाई कहिल्यै यस्तो रोग लाग्ला भन्ने एक इन्च पनि लागेको थिएन,” छविलाल भन्छन्, “डाक्टरले बाहिरका तयारी खानेकुरा र पटक-पटक तारेका कुरा खाँदा यस्तो भयो भनेपछि म झस्किएँ ।”
छविलाल किसान हुन्, लामो समयदेखि कृषि पेसामा छन् । पर्याप्त शारीरिक श्रम र पसिना बगाउने काम गर्ने हुँदा मधुमेह जस्ता रोग लाग्ने कुरा उनले कल्पनै गरेका थिएनन् । तर त्यतिले नहुँदो रहेछ । डाक्टरले भनेपछि मात्र उनलाई महसुस भयो– बजारमा पाइने अधिकांश तयारी र तारेका खानेकुरामा एउटै तेल पटक-पटक प्रयोग हुँदो रहेछ । “स्वादिलो पनि हुने, सस्तो पनि पाइने भएकाले त्यस्तै तेलमा पकाएका खानेकुरा खुबै खाइयो,” उनले सुनाए, “जिब्रोको स्वाद र अलिअलि पैसाको लोभले शरीरलाई भित्रभित्रै सडाइरहेको हुँदो रहेछ । यही लापरबाहीले गर्दा म मधुमेह रोगी बनेँ ।”
छविलाल अहिले औषधिको बलमा रोग नियन्त्रणको प्रयत्न गरिरहेका छन् । बाहिरका तयारी खाना, तारेका र चिल्ला चीजबीज पूर्णतया बन्द गरेका छन् । एक हिसाबले उनको खान्की नै अहिले सादगीपूर्ण बनेको छ ।
उनलाई उपचारका लागि सिन्धुलीबाट काठमाडौँ ल्याएका छोरा अमन भुल (२४) का अनुसार आर्थिक अवस्था पनि कमजोर भएकाले छविलालले स्वस्थकर खाना भन्दा त्यस्तै खानेकुरामा जोड दिएका थिए । “भोक मेटाउनु पर्थ्यो, परिवार पाल्नु पनि पर्थ्यो । उहाँले जे सस्तो पाइन्छ, त्यसमै जोड दिनुभयो,” अमन भन्छन्, “त्यही बानीले गर्दा पनि बुबा मधुमेहबाट ग्रसित हुनुभयो ।”
अमनका अनुसार बुबाको रोगले परिवारलाई आर्थिक मात्र होइन, मानसिक रूपमा पनि ठूलो असर पारेको छ । एकातिर उपचार खर्च र नियमित औषधिको जोहो गर्नुपर्ने, अर्कोतिर जीवनशैली परिवर्तन गर्दा परिवारमा थप आर्थिक चुनौती थपिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका घर भएकी १५ वर्षीया रेनुका अयडी नातामा भाउजू पर्नेसँग कैलाली, टिकापुरमा बसेर पढ्थिन् । आमाबुबा पछिल्लो १० वर्षदेखि रोजगारीका क्रममा भारतमा थिए । आश्रयका लागि पनि उनलाई टिकापुरमै आएर बस्नुपरेको थियो । त्यहीक्रममा ५ कक्षा पढ्दादेखि नै उनलाई पेट दुख्न थालेको थियो ।
तर रेनुकाले सामान्य दुखाई ठानेर गाउँकै औषधि पसलमा पाउने औषधि किनेर खाइन्, अरू वास्ता गरिनन् । स्कुल जाँदा वा घरमै हुँदा पनि पनि जंक फुड र तेलमा तारेका चिल्ला खानेकुरा उनको रोजाइमा पर्थे । केही समयपछि उनको दुखाई असाध्यै बढेर गयो । अस्पताल पुगेर जाँच्दा पो थाहा भयो, उनको मिर्गौलामा पत्थरी रहेछ । यस्तो खानपानका कारण पत्थरी बल्झिएको केही समयपछि त उनको मिर्गौलामै समस्या देखियो । अनि त मिर्गौलाको डायलिसिस गर्नुको विकल्प भएन ।
रेनुका अहिले नियमित रूपमा डाइलासिस गराइरहेकी छन् । तर यसले समस्या समाधान गर्ने छैन । किनभने डाक्टरले मिर्गौला फेर्नुपर्ने अर्थात् प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिइसकेका छन् । मिर्गौला प्रत्यारोपण त्यति सजिलो पनि कहाँ छ र ! रेनुका भन्छिन्, “हप्तामा २-३ पटक डायलिसिस गर्नुपर्छ । औषधि खाइरहनुपर्छ । अब त स्कुल पनि छुट्यो ।”
मापदण्ड कानूनमा मात्र, जनस्वास्थ्यमाथि जताततै लापरवाही
प्रतिष्ठित मेडिकल जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित काठमाडौँमा गरिएको १ हजार ५२५ खाद्य सामाग्रीमा आधारित अध्ययन अनुसार तीमध्ये ८६.८ प्रतिशत सामाग्रीहरूमा शरीरलाई आवश्यक नहुने पोषक तत्व को मात्रा सिफारिस गरिएको सीमा भन्दा बढी भेटिएका छन् । अर्थात् ती खाद्य सामग्रीमा शरीरलाई आवश्यक नहुने पोषक तत्व मिसाइएको छ ।
सो अध्ययन प्रतिवेदन केलाउँदा नेपालमा पाइने त्यस्ता पोषक तत्व धेरै भएका सामग्रीमध्ये ७१ प्रतिशत आयात गरिएका हुन् । त्यसमा पनि ३२.८ प्रतिशत सामग्री त छिमेकी राष्ट्र भारतबाट मात्र आयात गरिएका हुन् ।

यसकै प्रमुख हिस्सामा पर्छ ट्रान्स फ्याट । नेपालले २०२४ फेबु्रअरी ८ मा ट्रान्स फ्याटलाई खाद्य वस्तुमा हुने कुल बोसोजन्य मात्राको २ प्रतिशत भन्दा बढी नहुने कानून जारी गरेर लागू गरिसकेको छ । यसको कार्यान्वयनसँगै वार्षिक करिब २ हजार २०० जना नेपालीको अकालमै हुनसक्ने मृत्यु रोक्न मद्दत गर्ने आकलन गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यसको भार न्यून र निम्न-मध्यम आय भएका देशहरूमा असमान रूपमा बढ्दै गएको छ भने सबै देशहरूमा यी मृत्युले गरिब र अति विपन्न वर्गलाई बढी असर गरिरहेको छ ।
यो कानून जारी गरेपछि यसलाई ठूलो उपलब्धिका रूपमा लिएर डब्लुएचओले नेपाललाई बधाई नै दिएको थियो । तर आम नागरिकको स्वास्थ्य अर्थात् जनस्वास्थ्यसँग जोडिएको विषयमा बनेको यो कानून अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
विभिन्न ठाउँमा विभिन्न समयमा भएका वैज्ञानिक अध्ययनहरूको निचोड छ-दैनिक शरीरले खपत गर्ने कुल क्यालोरीको एक प्रतिशत भन्दा धेरै ट्रान्स फ्याट सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । उदाहरणका लागि, दैनिक २ हजार क्यालोरी आवश्यक पर्ने व्यक्तिले आधा चिया चम्चाभन्दा कम (झण्डै २ ग्राम) मात्र ट्रान्स फ्याट सेवन गर्न सक्छ । जनस्वास्थ्य विज्ञहरू भने ट्रान्स फ्याट शून्य भएको आहारलाई नै सुरक्षित मान्छन् ।
डब्लुएचओका अनुसार ट्रान्स फ्याटकै कारण विश्वभर प्रत्येक वर्ष करिब ५ लाख ४० हजार मानिसको मृत्यु हुन्छ । यही जोखिमलाई मध्यनजर गरेर हुनसक्छ, नेपालमा सन् २०२३ सम्म औद्योगिक ट्रान्स फ्याट नियन्त्रण गर्ने लक्ष्य लिइएको थियो । तर त्यसमा खास उपलब्धि नै भएन ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार तेललाई जति पटक तताइन्छ, त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । हामी वरपर हेर्दा पनि देख्छौँ, बारम्बार तताइएको तेलमै पकौडा, समोसा, फ्रेन्चफ्राइज, चिकेन फ्राइ जस्ता परिकार बनिरहेका हुन्छन् । ती परिकार खाँदा एकदमै स्वादिला पनि हुन्छन् । तर बारम्बार तताइएको तेलमा पकाइने यी परिकार स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने डा. प्रेमराज वैद्य बताउँछन् ।
“ट्रान्स फ्याटको असर तुरुन्त देखिँदैन। वर्षौँसम्म शरीरभित्र सुजन बढाउँदै यसले मुटु, मस्तिष्क र मिर्गौलामा दीर्घकालीन क्षति पुर्याउँछ,” उनी भन्छन् ।
त्यस्तै, प्याकेटमा बन्द गरिएका कुकिज, तयारी चाउचाउ, भुजिया, दालमोठ, चिप्स, कुरकुरे, केक, डोनट, पिज्जा, आइसक्रिम तथा वनस्पति घिउमा बनाइने मिठाइहरूमा पनि ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यसले पनि स्वास्थ्यमा असाध्यै नराम्रो असर पारिरहेको उनले बताए ।
स्ट्रीट फूड: सडकसम्मै फैलिएको मन्द विष
तपाईँ हाम्रो जिब्रोमा झुण्डिएका खानेकुरामध्येमै पर्छन् सडकका खानेकुरा अर्थात् ‘स्ट्रीट फुड’ । बेग्लै स्वाद, सस्तो मूल्य अनि हिँड्दाहिँड्दै जहाँ जतिबेला पनि खान मिल्ने । विश्व बजारमा तीव्र गतिमा फैलिँदै गएको ‘स्ट्रीट फुड कल्चर’ पछिल्लो समय नेपालमा पनि लोकप्रिय बनिरहेको छ । सडक छेउछाउमा खुला रूपमै बिक्री हुने खानेकुरामा सीमित छैन, अब स्ट्रीट फुड। बरु सहरमा खान्कीको अभिन्न अंग झैँ बनेको छ । छिटोछरितो, सस्तो र सहज रूपमा उपलब्ध हुने, खुला वातावरणमै बसेर खान पाइने फरक अनुभूतिका कारण पनि सहरको व्यस्त जीवनशैलीबीच स्ट्रीट फुडप्रति मानिसको आकर्षण बढिरहेको छ ।
त्यसमाथि अहिले त विभिन्न पालिकाहरूले नै स्ट्रीट फुडलाई प्रवर्द्धन गर्ने विभिन्न योजना र कार्यक्रम पनि ल्याइरहेका छन् ।
तर स्ट्रीट फूडमा रमाइरहेका उपभोक्तालाई यी खानेकुरा कत्तिको स्वस्थकर र सुरक्षित छन् भन्ने जानकारी छ त ? हामीले गरेको खोजबिनमा धेरैजसो उपभोक्ता यसबारे अनभिज्ञ देखिए ।
त्यही अनभिज्ञताकै कारण हुनसक्छ, काठमाडौँ महानगरपालिकाभित्रका मुख्य चोक, गल्ली र सडक छेउछाउमा एउटै तेलमा पटक पटक तारेका खानेकुरा निर्बाध बिक्री भइरहेका, उपभोक्ता पनि त्यसमै रमाइरहेका देखिए । त्यहाँ राखिएका मोमो, चटपटे, समोसा, पकौडा तथा फ्राइड नुडल्स प्राय: धुलो, धुवाँ र फोहोरकै बीचमा बिक्री भइरहेका भेटिए ।
कतिपय नगरपालिकाहरूले स्थानीय खान्कीलाई प्रवर्द्धन गर्ने उद्देश्यले पनि समय-समयमा खाना महोत्सव गर्ने गरेका छन् । तर खानाको गुणस्तर जाँच र त्यसमा प्रयोग भएको ट्रान्स फ्याटबारे कसैले चासो दिएका छैनन् । सहरको व्यस्त जीवनशैलीले पनि हुनसक्छ, घरमा खाना पकाउने समय नपाएका वा सस्तो विकल्प खोज्नेहरूका लागि स्ट्रीट फुड सहज रोजाइ बनिरहेको छ । तर छिटो उपलब्ध हुने र स्वादिला यी खानेकुरामा प्रयोग गरिने तेल तथा अन्य पदार्थको गुणस्तरप्रति उपभोक्ता खासै सचेत देखिँदैनन् ।
‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित नेपालका प्याकेटबन्द खान्कीहरुमा पोषणको गुणस्तर र चुनौतीबारे गरिएको एक विस्तृत अध्ययन अनुसार विशेष गरी साना बालबालिका र शिशुहरूले उपभोग गर्ने जंक फुड (पत्रु खाना) मा चिनी, बोसो, ऊर्जा र सोडियमको मात्रा अत्यधिक देखिएको छ । त्यो मात्रा डब्लुएचओको मापदण्ड भन्दा धेरै नै बढी देखिन्छ । त्यसमा विश्लेषण गरिएका अधिकांश उत्पादनहरू जस्तै बिस्कुट, चाउचाउ र मिठाइमा असाध्यै धेरै अस्वस्थकर तत्व पाइएका छन् । यसले गर्दा बालबालिकामा मोटोपन र दीर्घकालीन रोगको जोखिम बढेको, धेरैजसो खाद्यवस्तुका लेबलमा स्पष्ट पोषण जानकारीको अभाव रहेको र बजारमा आयातित वस्तुहरूको वर्चस्व रहेको अध्ययनले औँल्याएको छ । अध्ययनले नेपाल सरकारलाई कडा खाद्य नियमन, अनिवार्य लेबलिङ र जनचेतनामूलक कार्यक्रमहरू लागू गर्न सिफारिस पनि गरेको थियो ।
द ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन अनुसार अति-प्रशोधित खाद्य पदार्थ भन्नाले सस्ता खाद्य तत्व र एडिटिभ्सबाट बनाइएका त्यस्ता ब्रान्डेड उत्पादनहरूलाई बुझिन्छ जसलाई वास्तविक खाना र ताजा परिकारहरूलाई विस्थापित गरी उद्योगको नाफा बढाउन डिजाइन गरिएको हुन्छ । खाद्य प्रशोधनको उद्देश्य केवल खाना संरक्षण गर्ने मात्र नभई नाफामूलक विकल्पहरू सिर्जना गर्नेतर्फ मोडिएपछि ‘नोभा वर्गीकरण’को अवधारणा ल्याइएको हो, जसले प्रशोधनको सीमा र उद्देश्यका आधारमा खानालाई वर्गीकृत गर्छ ।

पहिलो, अप्रशोधित वा न्यून प्रशोधित खाद्यपदार्थको समूहमा प्राकृतिक रूपमा पाइने ताजा खानाहरू पर्छन् जसमा फलफूल, तरकारी, अन्न र पशुपन्छीजन्य उत्पादनहरू पर्ने गर्छन् । यिनमा कुनै पनि बाह्य पदार्थ थपिएको हुँदैन ।
दोस्रो, प्रशोधित भान्छाका सामग्रीहरूको समूह हो जसमा तेल, घिउ, चिनी र नुन जस्ता सामग्रीहरू पर्छन् । यी सामग्री पहिलो समूहको खानालाई पकाउन वा स्वादिलो बनाउन प्रयोग गरिन्छ ।
तेस्रो, प्रशोधित खाद्य पदार्थको समूह हो जसमा नुन, चिनी वा अन्य भान्छाका सामग्रीहरू थपेर बनाइएका सामान्य उत्पादनहरू पर्छन् । उदाहरणका लागि डब्बामा बन्द गरिएका तरकारी, चीज वा ताजा बनाइएका पाउरोटी आदि ।
चौथो, अति प्रशोधित खाद्य पदार्थ जसमा औद्योगिक रूपमा तयार पारिएका उत्पादनहरू पर्छन् । यिनमा सस्ता खाद्य तत्व र विभिन्न एडिटिभ्सहरु मिसाइएको हुन्छ । यी खानेकुरा वास्तविक खानालाई विस्थापित गर्न र उद्योगको नाफा बढाउन डिजाइन गरिएका हुन्छन् ।
उल्लिखित वर्गीकरणमध्ये पहिलो तीन समूहका खाना र तिनबाट तयार पारिएका परिकार स्वास्थ्यका हिसाबले राम्रै मानिन्छन् । तर चौथो समूह (अति प्रशोधित खाना) ले भने विभिन्न दीर्घकालीन रोगहरूको जोखिम बढाउँछन् ।

स्ट्रीट फुडप्रतिको आकर्षण र लोकप्रियता बढिरहँदा यसमा प्रयोग गरिने तेलको गुणस्तर चाहिँ कस्तो छ त ? हामीले खोजबिन गर्दा प्राय: जसो सस्तो तेल नै यिनमा पटक-पटक प्रयोग गरिएको भेट्यौँ । जनस्वास्थ्य विज्ञहरूका अनुसार सस्तो र बारम्बार तताइने तेलको प्रयोगले खानेकुरामा ट्रान्स फ्याटको मात्रा उच्च हुन्छ । डा. प्रेमराज वैद्यका भनाइमा त्यस्ता तेलको नियमित सेवनले मुटुरोग, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम उल्लेख्य रूपमा बढाउँछ ।
कैयौँ विकसित मुलुकमा स्ट्रीट फुड त्यहाँको संस्कृतिकै अभिन्न अंग जस्तै बन्न थालिसकेको छ । तर ती मुलुकले स्ट्रीट फुडलाई यत्तिकै लथालिंग छाडेका छैनन् । उनीहरूले यसका निम्ति निश्चित स्थान तोकिदिएका हुन्छन् जहाँ स्वच्छता, खाद्य सुरक्षा र गुणस्तरका कडा मापदण्ड पालना गरेपछि मात्र स्ट्रीट फुडको व्यापार सञ्चालन गर्न अनुमति दिइन्छ । अखाद्य वस्तु वा स्वास्थ्यमा गम्भीर असर पार्ने खानेकुरा बिक्री गरे कडा सजायको व्यवस्था गरिएको हुन्छ । त्यहीकारण उपभोक्ताले ढुक्क भएर खाने वातावरण पनि बनेको हुन्छ ।
जस्तो, डेनमार्कमा स्ट्रीट फुडका लागि डेनिस भेटेरिनरी एन्ड फुड एडमिनिस्ट्रेसनले फुड हाइजिन नियमहरू निर्धारण गरेको छ । जसले यसको नियमित अनुगमन गर्दै खाद्य स्वच्छता सुनिश्चित गर्छ । जसअनुसार स्ट्रीट फुड सञ्चालनका लागि खाना तयारी क्षेत्र सफा र कीटबाट सुरक्षित हुनुपर्छ । खाना भण्डारण गोदाममा हुनुपर्छ । हात धुने ठाउँसम्मको पहुँच अनिवार्य गरिएको छ । २ घण्टाभन्दा बढी यस्ता ठाउँ सञ्चालन गर्दा शौचालयको पहुँच अनिवार्य गरिएको छ ।
स्वस्थ र ताजा राख्न डेनमार्कमा खाना भुईँबाट कम्तीमा ३० सेन्टिमिटर उचाइमा राख्नुपर्छ । ग्राहकबाट बचाउन ४०-५० सेन्टिमिटर उचाइको स्निज स्क्रिन (प्लेक्सिग्लास) प्रयोग गर्नुपर्छ । तापक्रम नियन्त्रण, लेबलिङ पालना गर्नुपर्छ र कच्चा पदार्थको प्राप्तिबारे पनि रसिद राख्नुपर्छ ।
नेपालमा यस्तो केही व्यवस्था तर्जुमा वा लागू गरिएको छैन । यसै त जताततै प्रदूषणयुक्त वातावरण, त्यसमाथि अव्यवस्थित स्टल र कमजोर अनुगमनका कारण सडक छेउछाउमा बिक्री हुने खानेकुराले स्वास्थ्यमा गम्भीर असर पारिरहेको डा. वैद्य बताउँछन् । त्यसमाथि ट्रान्स फ्याट जस्ता अखाद्य वस्तुको मिसावटबारे प्रभावकारी अनुगमन हुँदैन । अनुगमन नै नभए कारबाही हुने कुरा भएन । यसले जोखिम ह्वात्तै बढाएको छ ।
यसो भन्दैमा स्ट्रीट फूडका सबै व्यवसायी आम मानिसको स्वास्थ्यप्रति बेपरवाह छन् र आफ्नो नाफा मात्र हेरिरहेका छन् भन्ने पनि होइन । जस्तो, काठमाडौँको मध्यबानेश्वर क्षेत्रमा स्ट्रीट फुड बेच्दै आएकी रामेछापकी शोभा मगर एउटा उदाहरण हुन् । उनी ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सकेसम्म सफा र स्वच्छ तरिकाले खाना तयार गर्ने गरेको बताउँछिन् ।
“ग्राहकलाई राम्रो खाना दिनुपर्छ भन्ने लाग्छ,” उनी भन्छिन्, “तर बजारमा सस्तोमा पाइने तेल नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।”
उनले ट्रान्स फ्याटबारे भने आफूलाई खासै जानकारी नभएको उल्लेख गरिन् ।
काठमाडौँमा पेवा फुड पसलमा लामो समयदेखि स्ट्रीट फुड बनाउँदै आएका धरानका अनिल श्रेष्ठ स्ट्रीट फूडमा सस्तो तेल भन्दा तोरीको तेल प्रयोग गर्ने गरेको बताउँछन् । “हामी प्रयोग गर्ने तेल हरेक दिन परिवर्तन गर्छौँ । यसले गर्दा स्ट्रीट फुडको स्वाद पनि सधैँ एउटै रहन्छ र स्वास्थ्यका हिसाबले पनि ठिक हुन्छ,” उनी भन्छन् ।
उही तेल, झन् जोखिम: कहाँ जान्छ प्रयोग भइसकेको तेल ?
श्रेष्ठका अनुसार एउटै तेल बारम्बार प्रयोग गरेमा स्वाद पनि बिग्रिन्छ । त्यसले स्वास्थ्यमा पार्ने नराम्रो असर त छँदै छ । “हामी सस्तो तेल प्रयोग गर्दैनौँ,” उनले थपे, “प्रयोग भइसकेको तेल फेरि बजारमा बिक्री गरिन्छ, तर त्यो कहाँ प्रयोग हुन्छ भन्ने थाहा छैन ।”
अनिल जस्ता केही स्ट्रीट फुड बिक्रेताले एउटै तेल बारम्बार प्रयोग नगरे पनि धेरैजसो स्ट्रीट फुड बिक्रेताले भने एउटै तेल पटक-पटक प्रयोग गर्ने गरेको प्रत्यक्षदर्शी तथा भुक्तभोगीहरू बताउँछन् । हाम्रो खोजबिनका क्रममा पनि धेरैजसोले एउटै तेल पटक-पटक प्रयोग गरेको भेटियो ।
स्ट्रीट फुड, रेष्टुरेन्ट र साना होटेलबाट दैनिक ठूलो परिमाणमा प्रयोग भइसकेको तेल निस्कन्छ । केही बिक्रेताका अनुसार यस्तो तेल थोक व्यापारीमार्फत पुनः बिक्री हुन्छ । तर त्यो तेल अन्ततः कसले किन्छ ? अनि कहाँ प्रयोग हुन्छ ? यसबारे कुनै स्पष्ट अभिलेख वा जानकारी सम्बद्ध निकायसँग छैन ।
जनस्वास्थ्य विज्ञहरू भन्छन्-यदि प्रयोग भइसकेको तेल पुनः खाद्य उद्योगमै फर्केर प्रयोग भइरहेको छ भने यो नियमनको गम्भीर कमजोरी हो । प्रयोग भइसकेको तेलको संकलन गरेर नष्ट गर्ने वा औद्योगिक कार्यमा पुन:प्रयोगका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको उनीहरूको भनाई छ ।
यो यति खतरनाक तेल हो जसमा बनाइने स्ट्रीट फूडको स्वादमा रत्तिएका उपभोक्ताको आकर्षण भने केही गरी पनि घटेको छैन । जस्तो, काठमाडौँमा भेटिएका एक उपभोक्ताले घरमा चिल्लो र पिरो खानेकुरा खान नहुने भनेर परहेज गरिएको, बजारमा पाइने सस्तो र स्वादिलो स्ट्रीट फुड भने त्यही कुराले आकर्षक हुने भएकाले प्राय: स्ट्रीट फुड खाने गरेको बताए । “अफिसमा हुँदा त यही नै सबैभन्दा सजिलो लाग्छ, अरू बेला पनि छिटोछरितो र सस्तो हुने भएकाले स्ट्रीट फुडमै बानी परेका छौँ,” उनले भने ।
उपभोक्ताको आकर्षणकै कारण स्ट्रीट फुड अहिले सहरी क्षेत्रमा स्वरोजगारको महत्त्वपूर्ण माध्यम पनि बनेको छ । एउटा महत्त्वपूर्ण रोजगार-स्वरोजगारको क्षेत्र बनेको यो व्यवसायलाई लिएर एकातिर उपभोक्ता आफै आफ्नो स्वास्थ्यप्रति सचेत बन्न सकेका छैनन् । अर्कोतर्फ सम्बन्धित निकायले अनुगमन र नियमन प्रभावकारी बनाउन पनि सकेका छैनन् । त्यसको ज्वलन्त उदाहरण त प्रयोग भइसकेको तेल कहाँ कसरी निरन्तर पुन:प्रयोग भइरहेको छ भन्ने तथ्यप्रति आँखा चिम्लिएको देखिनु हो ।
उही तेलमा पटक पटक ‘डिप फ्राई’ गरेर तयार पारिएका खानेकुरा ती भन्दा पनि घातक हुन्छन् जति लामो समय प्याकेजिङ गरेर राखिएका खानेकुरा हुन्छन् । किनभने यस्ता खानेकुरामा ट्रान्स फ्याट धेरै हुन्छ र स्वास्थ्यका लागि ती असाध्यै घातक हुन्छन् । जनस्वास्थ्य विज्ञहरू भन्छन्-गम्भीर रोग र स्वास्थ्य समस्याबाट जोगिने हो भने यस्ता खानेकुरा खाँदै नखानू । व्यवसायीहरू नाफामा केन्द्रित रहेको र नियामक निकायहरूको भूमिका पनि प्रभावहीन रहेकाले उपभोक्ता स्वयं आफ्नो लागि सचेत बन्नुको उपाय नरहेको उनीहरूको भनाई छ ।
डा. वैद्य उही तेलमा डिप फ्राई गरिएका खाद्यवस्तु खानै नहुने, प्याकेटमा बन्द गरिएका खाद्य सामग्री किन्दा पनि ट्रान्स फ्याटको मात्रा स्पष्ट रूपमा उल्लेख गरिएको लेबल हेरेर मात्र किनमेल गर्नुपर्ने बताउँछन् ।
त्यस्तै, वनस्पति घिउको सट्टा गाई वा भैँसीको घिउ प्रयोग गर्ने, एक पटक प्रयोग गरेर डढेको तेल पुनः प्रयोग नगर्ने, तोरीको तेल र नरिवलको तेललाई प्राथमिकता दिने तथा ओलिभ तेल अत्यधिक तताउन नहुने उनको सुझाव छ । रातो मासुको सट्टा सेतो मासु खाने, दूधको चिल्लो निकालेर पिउने, मिठाइ, आइसक्रिम, पिज्जा, केक जस्ता खाद्यपदार्थ सेवन कम गर्ने, तयारी चाउचाउमा राखिएको वनस्पति घिउ खान नहुने सुझाव पनि उनले दिए ।
तर बजारमा बिक्री हुने सबै प्याकेटका खाद्य पदार्थमा उत्पादन मिति वा म्याद सकिने समय उल्लेख हुँदैन । कतिपयमा प्रयोग गरिएका पौष्टिक तत्व, चिल्लो, नुन, चिनी तथा ट्रान्स फ्याटको मात्रा स्पष्ट रूपमा उल्लेख गरिएको हुँदैन । यो कुरा अनिवार्य रूपमा लागू गरिनुपर्नेमा जनस्वास्थ्य विज्ञहरूले जोड दिँदै आए पनि अहिलेसम्म कार्यान्वयन पक्ष फितलो छ । किनभने यसको नियमन र अनुगमन प्रभावकारी हुन सकेको छैन ।
कतिपयले यसमा कानून र पद्धति कमजोर रहेको तर्क पनि गर्ने गरेका छन् । के यसलाई नियन्त्रण गर्न कानूनी व्यवधान वा कमजोरी नै छन् त ?
यससम्बन्धी तथ्य हेरौँ । नेपाल सरकारले ट्रान्स फ्याट (अखचि) सम्बन्धी नयाँ मापदण्ड केही समय अघिदेखि कार्यान्वयनमै ल्याएको छ । र, यो सँगै नेपाल अब ट्रान्स फ्याट सीमित गर्ने कानून जारी गर्ने विश्वको ५८औँ मुलुक बनेको छ ।
सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहु क्षेत्रीय कार्ययोजना (सन् २०२१-२०२५) अन्तर्गत नै ट्रान्स फ्याट सीमित गर्ने नीति पारित गरेको थियो । सोही नीतिअनुसार गत साउन अन्तिम सातादेखि नयाँ मापदण्ड लागू गरिएको हो । जसअनुसार कुनै पनि खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा बढी ट्रान्स फ्याट हुन नपाइने व्यवस्था छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२३ को डिसेम्बरसम्म औद्योगिक ट्रान्स फ्याटलाई विश्वबाट नै पूर्ण रूपमा हटाउन सिफारिस गरेको थियो । डब्लुएचओले साउदी अरब, डेनमार्क, पोल्याण्ड, थाइल्यान्ड र लिथुआनियालाई ट्रान्स फ्याट उन्मूलनमा सर्वोत्कृष्ट अभ्यास गरेका देशहरू बताएको थियो । सन् २०२२ जनवरीमा प्रकाशित डब्लुएचओको प्रतिवेदनअनुसार भारतसहित ६० भन्दा बढी देशले ट्रान्स फ्याटसम्बन्धी नीति तथा कानून पारित गरी कार्यान्वयनमै ल्याइसकेका थिए ।
भारतले खाद्य तेल र बोसोमा ट्रान्स फ्याटलाई ३ प्रतिशतसम्म सीमित गरेको थियो जुन २०२२ जनवरीदेखि २ प्रतिशतमा झारियो । बांङ्लादेश फुड सेप्टी अथोरिटीले २०२२ सम्म सबै तेल, बोसो र खाद्यमा ट्रान्स फ्याट २ प्रतिशत भन्दा कम गर्ने नीति अपनाएको छ । पाकिस्तानले २०२५ मार्चमा राष्ट्रिय मापदण्ड पारित गरी सबै खाद्य उत्पादनहरूमा ट्रान्स फ्याट २ ग्राम प्रति १०० ग्रामभन्दा कममा सीमित गरेको छ ।
त्यस्तै, श्रीलंकाले पनि २०२२ को फुड (ट्रान्स फ्याट) नियमावलीमार्फत आंशिक हाइड्रोजेनेरेटेड तेल प्रतिबन्ध गरेको छ र खाद्यमा ट्रान्स फ्याट २ प्रतिशत भन्दा बढी नहुने कानून २०२४ जनवरीबाट नै लागू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा ट्रान्स फ्याट नियन्त्रणको विषय स्वास्थ्यसँग मात्र सम्बन्धित नरहेको, बरु यो खाद्य उत्पादन र अर्थतन्त्रसँग पनि जोडिएको बहु क्षेत्रीय विषय भएको बताउँछन् । “ट्रान्स फ्याटले स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ,” उनले भने, “तर यसको उत्पादन, प्रयोग र अनुगमन खाद्य क्षेत्रसँग ज्यादा सम्बन्धित छ ।”
अनुगमन फितलो हुँदा ट्रान्स फ्याटको प्रयोग अत्यधिक बढेको, त्यसले दीर्घ रोगहरूको जोखिम बढाएको डा. देवकोटाको निष्कर्ष छ । “यसको असरले मुटु, मिर्गौला र मस्तिष्कमै समस्या बढ्छन् र उपचारमा ठूलो धन खर्च लाग्छ,” उनले भने, “यसले क्षणिक ऊर्जा दिने भएकाले गरिब, मजदुर तथा न्यून आय भएका वर्गले समय र मूल्यका कारण पनि ट्रान्स फ्याट भएकै खानेकुरा ज्यादा रोज्छन् ।”
डा. देवकोटाले होटेल तथा खाद्य उद्योगहरूमा तेल पुनः प्रयोग गर्ने प्रवृत्ति सबैभन्दा खतरनाक रहेको, यसले नै समस्या बढाएको बताए । “सामान्य रेष्टुरेन्टदेखि ठुला होटेलसम्ममा तेल नियमित रूपमा परिवर्तन नगर्ने, बरु पटक–पटक उही तेल प्रयोग गर्ने अवस्था देखिन्छ, जसले ट्रान्स फ्याटको मात्रा बढाउँछ,” उनी भन्छन्, “त्यसमाथि सुर्तीजन्य र मदिराजन्य सामग्रीको प्रयोग, गुलिया पेय पदार्थ सेवन, अनि मानसिक तनाव र शारीरिक निष्क्रियताले नसर्ने रोग बढाउन थप भूमिका खेलेको छ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनस्वास्थ्यसँग जोडिने विषयको तालुकदार मन्त्रालय हो । त्यही मन्त्रालयको प्रशासनिक नेतृत्व हाँकिरहेका डा. देवकोटा उत्पादनकर्ताले पनि खाद्य वस्तुमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा कम रहेको स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने, त्यसलाई आन्तरिक प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने र गुणस्तर नियन्त्रण टिमलाई जिम्मेवार बनाउनुपर्ने बताउँछन् । “केही अध्ययनमा ट्रान्स फ्याटको मात्रा अत्यधिक देखिएको छ, त्यसैले उत्पादनकर्तालाई जिम्मेवार बनाउन आवश्यक छ,” उनले भने ।
नेपालमा खाद्य वस्तु र औषधि सम्बन्धी क्षेत्र फरक-फरक निकाय अन्तर्गत रहेका छन् । त्यसअनुसार फरक–फरक निकायले नै आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । ट्रान्स फ्याट जस्तो जनस्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्ने विषयमा बहु क्षेत्रीय संयन्त्र, अनुगमन प्रणाली र आचारसंहिता पनि विकास गर्नुपर्ने आवश्यकता रहेको डा. देवकोटाले जोड दिए ।
ट्रान्स फ्याट नियन्त्रणका लागि सरकारले ल्याएको नयाँ कानूनी व्यवस्था जनस्वास्थ्यका लागि हितकारी हुने अपेक्षा धेरैले गरेका छन् । तर कानून निर्माण मात्र पर्याप्त नभई यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र सबै सरोकारवाला निकायबीच समन्वय झन् बढी आवश्यक भएको विज्ञहरू बताउँछन् ।
उद्योगीको तर्क-पहिला वातावरण, अनि मात्र नियमन
उपभोक्ताको स्वास्थ्यमा संकट बन्न थालेको ट्रान्स फ्याटबाट उद्योगी-व्यवसायी पनि अछुतो छैनन् । नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमलराज अधिकारी सरकारी संयन्त्रको लापरवाहीका कारण उद्योगी र उपभोक्ता सबैले मार खेपिरहेको बताउँछन् । उद्योग खोल्न अनुमति दिनेदेखि कच्चा पदार्थ अयात गर्ने सम्मको काममा सरकारको अपारदर्शिताका कारण स्वास्थ्य क्षेत्रमा यो अवस्था निम्तिएको उनले बताए । “सरकारी निकाय कारवाही गर्न मात्रै अगाडि बढ्ने। ट्रान्स फ्याट बढी भयो भनेर निकाल्न तयार हुने, तर व्यवसायीलाई त्यो बारेमा नभन्ने । तर बाहिरबाट आउने सामान कसरी आइरहेका छन् भन्नेमा त्यति चासो नहुने,” उनले भने ।
उद्योगी र उपभोक्ताबीच समन्वय बढाउन सरकारी निकायले बृहत् छलफल र अन्तरक्रिया गरेर समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए । अनावश्यक रूपमा दर्ता नै नगरेर चलाइएका उद्योगहरूबाट अत्यधिक ट्रान्स फ्याटजन्य खानेकुरा उत्पादन भइरहेको भए पनि नियमनकारी निकायले आवश्यक चासो नदिएको अधिकारी बताउँछन् ।
“कति पाउरोटी उद्योग छन् भन्ने तथ्यांक सरकारसँग नै छैन । सरकारको फितलो नीतिले गर्दा व्यवसायी उत्साहित छैनन् । नियमन नै नभएपछि आफ्नो खुसीले जे गरे पनि भइरहेको छ,” उनले भने, “देशका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नागरिकको स्वास्थ्य हो । स्वास्थ्यका लागि खाद्यवस्तु नै चाहिन्छ ।” खाद्यवस्तुको नियमन, अनुगमन तथा कानून कार्यान्वयन गर्ने निकायहरूमा नै जनशक्ति र बजेटको अभाव भए व्यवसाय पनि प्रभावकारी हुन नसक्ने उनको तर्क छ ।
जनस्वास्थ्यको संकट, रोक्ने कसरी ?
नेपालमा दैनिक प्रयोग हुने खानेकुरामा मिसिएको ट्रान्स फ्याट अर्थात् ‘अखचि’ बिस्तारै जनस्वास्थ्यकै गम्भीर समस्या बन्न थालेको छ । मुख्यतः यस्तो खानपानकै कारण अस्पतालमा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । नेपालकै अग्रणी मानिने वीर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्याले त्यसको तस्बिर देखाउँछ । पछिल्लो एक बर्षको तथ्यांक हेर्दा वीर अस्पतालको ओपिडीमा ६ लाख ४७ हजार दुई सय १५ जना आएका, २१ हजार २२४ जना अस्पताल भर्ना भएका र इमर्जेन्सीमा ३५ हजार १४१ जना बिरामी दर्ता भएको देखिन्छ । गत साउनदेखि माघसम्मको मात्र तथ्यांक हेर्ने हो भने पनि १२ हजार ५२२ जना बिरामी भर्ना भएका छन् ।
सस्तो, छिटोछरितो, सजिलो र स्वादिलो खानेकुरामा मिसिने हानिकारक चिल्लो पदार्थ, ट्रान्स फ्याटले बढाइरहेका स्वास्थ्य समस्या अब त्यतिमै सीमित छैनन् । त्यसले थपेको आर्थिक भारले परिवारको संरचना र सन्तुलन खलबल्याउन थालेको छ । त्यो दबाब परिवारको आर्थिक अवस्था खलबल्याउन मात्र जिम्मेवार छैन, बरु यसले राज्यको स्वास्थ्य र आर्थिक प्रणालीमै पनि दबाब पार्न थालेको छ ।
प्राकृतिक ट्रान्स फ्याट सीमित मात्रामा सुरक्षित भए पनि उद्योगजन्य ट्रान्स फ्याट अत्यन्तै खतरनाक छ र सबै हिसाबले जोखिमपूर्ण छ । विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार नेपालले औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा दुई प्रतिशत तोकेर नयाँ कानूनी मापदण्ड लागु गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
यो मापदण्ड लागु भएपछि उत्पादन, आयात र बजारमा निगरानी गरेर ट्रान्स फ्याट नियन्त्रणको प्रयास भइरहे पनि प्रभावकारी अनुगमनको अभाव देखिन्छ । त्यसमाथि उपभोक्ता सचेतना त देखिएकै छैन । नियमित परीक्षण, लेबलिङ, सुरक्षित तेलको प्रयोग र बाहिरको अस्वस्थकर खाना कम गर्ने अभ्यासले दीर्घकालीन स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सघाउँछ जसमा उपभोक्ताको सचेतना सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।
आम उपभोक्ताको ध्यान र व्यवहार भने सजिलै भोक मार्ने अर्थात् पेट भर्नेमा सीमित किन भइरहेको छ भनेर खोजबिन गर्ने प्रयास गरिएको छैन । त्यसकै परिणाम देशभरका अन्य सरकारी तथा निजी अस्पतालमा पनि बिरामीको लाइन थेगि नसक्नु बढिरहेको छ ।
यसरी हरेक दिन हामीले खाने खानेकुरासँगै खाइरहेको ट्रान्स फ्याटका कारण लाग्ने रोग भयावह रूपमा देखा परिरहेका छन् । यसको रोकथाममा नियामक निकाय प्रभावकारी नदेखिएकाले आफ्नो स्वास्थ्य जोगाउन उपभोक्ता स्वयं नै चनाखो बन्नुको उपाय देखिँदैन । नियामक निकायको न्यून अनुगमन र परीक्षणको आँकडाले पनि त्यही देखाउँछ ।
न्यून अनुगमन र परीक्षण
हामीले खाने कुरामा ट्रान्स फ्याटको मात्रा अत्यधिक भेटिनु अहिले सामान्य बनिसकेको छ । फरक कति मात्र भने नियामक निकायले आक्कलझुक्कल छापा मार्दा मात्र यो विषय उजागर हुन्छ । अरू बेला यो क्रम निर्बाध चलिरहन्छ । जनस्वास्थ्यको यति गम्भीर विषयमा सरोकारवालाको तदारुकता महत्त्वपूर्ण रहन्छ, तर नियमित अनुगमन र नियमनतर्फ भन्दा पनि उपभोक्ताको उजुरीपछि मात्रै कारबाही अगाडि बढाउने परिपाटी मौलाएको छ । त्यही पनि नियमित र प्रभावकारी छैन ।
कानून लागु भएको दुई वर्ष बितिसक्दा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म दुइटा उद्योगलाई मात्र कारवाही गरेको छ । अध्ययन प्रतिवेदन र विज्ञहरूले उठाएका गम्भीर तथ्यहरूलाई हेर्ने हो भने विभाग कानुनको व्यावहारिक कार्यान्वयन भन्दा पनि दाबीमै सीमित देखिन्छ ।
नेपालमा ट्रान्स फ्याटको सीमा (कुल चिल्लोको २ प्रतिशत भन्दा बढी नहुने) उल्लंघन भएमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले उत्पादन फिर्ता, बिक्री रोक्ने र जरिवाना तथा मुद्दा चलाउने कारबाही गर्छ । हालसम्म ठुला कारबाहीहरू खजुरीको नेपाल र नाङ्लो बेकरीलाई गरिएको छ ।
खजुरीको नेपाल प्रालिबाट उत्पादित पफ सामग्रीका ब्याच बीवन-थ्रीए/बीवन-फाइभएमा २०८२ मंसिरमा ट्रान्स फ्याटको उच्च मात्रा भेटिएपछि खाद्य गुणस्तर ऐन २०८१ को धारा ३८ अनुसार बजारबाट तत्काल फिर्ता, बिक्री तथा वितरणमा रोक लगाइएको थियो ।
नाङ्लो बेकरीबाट उत्पादित क्रोइसाँ ब्याच नम्बर १ मा २०८२ पुसमा ट्रान्स फ्याट (प्रति १०० ग्राममा)२ ग्राम भन्दा बढी भेटिएपछि सबै ब्याच फिर्ता गरेर सार्वजनिक सूचना जारी गरी बिक्री गर्न रोक लगाइएको थियो ।
वनस्पतिजन्य तेललाई हाइड्रोजेनेरेसन प्रक्रियामार्फत् वनस्पति घिउ बनाइन्छ र त्यो क्रममा उच्च तापका कारण ट्रान्स फ्याट उत्पादन हुन्छ । यही ट्रान्स फ्याट, जसले मुटुको धमनीमा अवरोध ल्याउन सक्छ । यही कारण नै नेपालमा पनि औद्योगिक ट्रान्स फ्याटमा कडाइ गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य ट्रान्स फ्याट सम्बन्धी अनिवार्य गुणस्तर मापदण्ड लागू भइसकेको दाबी गर्छिन् । मापदण्ड अनुसार वनस्पति घिउ, बेकरी सर्टनिङ, मार्जरिन, बेकरी तथा फ्राइड खाद्य पदार्थ, पाउरोटी, बिस्कुट, केक र नुडल्समा परीक्षण तथा लेबलिङ अनिवार्य गरिएको छ । आयातित ‘प्रोसेस्ड फुड’को हकमा तोकिएको कानूनी सीमाभित्र भए मात्र आयात अनुमति दिइने र स्वदेशी उत्पादनमा पनि उत्पादन अनुमति तथा नवीकरणका क्रममा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
के अहिले यही मापदण्डअनुसार काम भइरहेको छ त ? डा. वैद्य बजार अनुगमनका क्रममा ट्रान्स फ्याटको मात्रा सीमा भन्दा बढी भेटिए खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार उत्पादन नै बजारबाट फिर्ता अर्थात् ‘रिकल’ गरिने बताउँछिन् ।
विभागको दाबीअनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर नै नियमित रूपमा बजार अनुगमन भइरहेको छ । त्यसका लागि २२ वटा डिभिजन कार्यालय र प्रदेशस्तरीय टोली सक्रिय रहेको, खाद्यवस्तुको लेबलमा उल्लेखित मात्रा प्रयोगशालामा परीक्षण गर्ने काम पनि भइरहेको विभागले जानकारी दिएको छ । महानिर्देशक डा. वैद्य ऐनको व्यवस्था र तोकिएको मापदण्ड उल्लंघन गरेमा त्यस्ता व्यवसायीलाई ६ महिनासम्म कैद, तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
तर बजारको आकार र खाद्य व्यवसायको संख्यासँग तुलना गर्दा निरीक्षक र प्रयोगशालाको क्षमता सीमित रहेको स्वीकारोक्ति स्वयं सरोकारवालाबाटै आउने गरेको छ ।
महानिर्देशक वैद्यका अनुसार दीर्घकालीन रूपमा ट्रान्स फ्याटको स्रोतमा नै नियमन गरेर आयात, स्वदेशी उत्पादन, होटेल, रेस्टुरेन्ट र बेकरीमा प्रयोग हुने कच्चा पदार्थमाथि नै निगरानी बढाउने योजनामा विभाग अघि बढेको छ । “औद्योगिक ट्रान्स फ्याटको मात्रा दुई प्रतिशतभन्दा बढी भए कानूनी कारबाही हुन्छ । हामीले स्वास्थ्यमा निम्तिने जोखिम न्यूनीकरणका लागि आयातदेखि उत्पादन र बजारसम्म कडाइ गरेका छौँ,” उनले भनिन्, “नियमित अनुगमन, परीक्षण र जनचेतनामार्फत ट्रान्स फ्याट नियन्त्रण गर्न हामी प्रयासरत छौँ ।”
तर, खुला खाद्य (स्ट्रीट फुड) मा नियमित नमुना संकलन, परीक्षण र प्रतिवेदन सार्वजनिक गर्ने प्रणाली अझै व्यवस्थित देखिँदैन । रिपोर्ट आउन लाग्ने समय, परीक्षण क्षमता र सार्वजनिक पारदर्शिताको अभावले नीति र व्यवहार दुबैमा कमजोर देखिएको विज्ञहरूको तर्क छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि सम्बन्धीत निकायले न्यून र चाडबाड लक्षित अनुगमन भन्दा पनि निरन्तर बजार अनुगमन र कडाइका साथ मापदण्डको पालना गराउनुपर्ने देखिन्छ। उद्योगीलाई स्वस्थ उत्पादनमा आकर्षित गर्दै उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ। उपभोक्तालाई सु-सूचित गर्नका लागि प्याकेटमा अनिवार्य लेबलिङ गर्ने । ट्रन्सफ्याट युक्त खानेकुराको बजारिकरणका लागि निश्चित मापदण्ड तयार गरी कार्यान्वयन गर्ने र जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ।






