काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार नै सरुवा निर्णय गरे पनि सूची सार्वजनिक नगरेको विषयमा प्रशासन डटकमले समाचार प्रकाशन गरेपछि उक्त सूची सार्वजनिक गरिएको हो ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट निष्पक्षता र समग्र निजामती प्रशासन सुधारको अपेक्षा भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भने भइसकेको निर्णयसमेत सार्वजनिक नगरिनुले कर्मचारी वृत्तमा विभिन्न आशंका उत्पन्न भएका थिए ।
कर्मचारी सरुवालाई निष्पक्ष बनाउने सरकारी दाबी भइरहँदा व्यवहारमा अझै चयनमुखी प्रवृत्ति देखिएको आरोप लाग्दै आएको छ । सूची नै सार्वजनिक नगरिनुले पारदर्शितामाथि थप प्रश्न उठाएको थियो । पछिल्लो समय सरुवामा निष्पक्षता कायम गर्नुपर्ने माग कर्मचारीहरूबाट निरन्तर उठ्दै आएको छ ।
यसैबीच, केही सिनियर कर्मचारीहरू अझै सिंहदरबारमै कायम रहँदा तल्लो तहका कर्मचारीलाई दुर्गम क्षेत्रमा खटाइएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले सरुवा प्रक्रियामा मापदण्ड र न्यायोचित आधार स्पष्ट हुनुपर्ने माग गरेका छन् ।
यस सरुवामा पनि छोटो अवधिमै पुनः सरुवा गरिएका कर्मचारीहरू समावेश हुँदा वर्षौँदेखि सरुवा नपाएका कर्मचारीहरू भने अझै छुटेका छन् ।







