काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को करिब १२ वर्षअघिको र्याप ब्याटल भिडियोप्रति असन्तुष्टि जनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरूले साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्।
उजुरीकर्ताहरूले सो भिडियोमा प्रयोग गरिएका शब्द तथा अभिव्यक्तिहरू महिला तथा यौनिक अल्पसंख्यक समुदायप्रति लक्षित अपमानजनक र घृणाजनक रहेको दाबी गरेका छन्।
संघ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त सामग्रीमा शाह र लिटल ग्रिजलबीचको र्याप प्रतिस्पर्धा समेटिएको छ, जसमा अश्लीलता, लैंगिक संवेदनशीलता विपरीत अभिव्यक्ति तथा अपमानजनक शब्द प्रयोग भएको आरोप लगाइएको छ। पछिल्लो समय प्रधानमन्त्री शाहसँग सम्बन्धित एक सामाजिक सञ्जाल विवादका कारण यो पुरानो भिडियो पुनः चर्चामा आएको बताइएको छ।
सो भिडियोले हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ। सामग्रीमा दिवंगत र्यापर यमबुद्ध पनि देखिन्छन्।
साइबर ब्युरोमा दर्ता गरिएको उजुरीमा भिडियोभित्र प्रयोग भएका केही शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपमान भएको उल्लेख गर्दै आपत्ति जनाइएको छ।
उजुरीमा प्रधानमन्त्री शाह सार्वजनिक पदमा रहेको व्यक्तित्व भएकाले यस्ता सामग्रीले सामाजिक स्तरमा विभेद र असुरक्षाको वातावरण सिर्जना गर्न सक्ने दाबी गरिएको छ। साथै, उक्त सामग्रीले महिला तथा लैंगिक अल्पसंख्यक समुदायप्रति नकारात्मक प्रभाव पारेको भन्दै हटाउनुपर्ने माग गरिएको छ।
त्यसैगरी, भिडियोबाट भएको आम्दानी सामाजिक सन्देशमूलक तथा समावेशी गतिविधिमा खर्च गर्नुपर्ने, सार्वजनिक रूपमा माफी मागिनुपर्ने तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत उजुरीमा समेटिएको छ।











