काठमाडौँ । संघीय निजामती सेवा ऐनसम्बन्धी विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसहितका कर्मचारीहरूको सहभागितामा छलफल चलिरहेको छ ।
मन्त्रालयमा आयोजित उक्त बैठकमा ऐनसँग सम्बन्धित विषयवस्तु, कार्यान्वयनका आयाम तथा प्रशासनिक संरचनासम्बन्धी पक्षहरूमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ । विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूले आ–आफ्ना अनुभव, सुझाव र सरोकारका विषयहरू राखिरहेका छन् ।
छलफलमा संघीय निजामती सेवा ऐनको तयारी, कार्यान्वयन प्रक्रियामा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे पनि धारणा आदानप्रदान भएको सहभागीहरूले बताएका छन् ।
मन्त्रालयका अनुसार यस्ता छलफलमार्फत ऐनलाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउने उद्देश्य राखिएको छ । साथै, विभिन्न मन्त्रालयबीच समन्वय सुदृढ गर्दै प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउनेतर्फ समेत जोड दिइएको छ ।







