काठमाडौँ । विपक्षी तीन दलले आगामी वर्षे खेतीको सिजन सुरु हुनुअघि आवश्यक परिमाणमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
बिहीबार बिहान राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस र नेकपासहितको सहभागितामा कृषि आपूर्तिसम्बन्धी विषयमा छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो।
बैठकले प्रत्येक वर्ष खेतीपातीको समयमा रासायनिक मल अभाव हुने समस्या दोहोरिँदै आएको उल्लेख गरेको छ। यस वर्ष अन्तर्राष्ट्रिय तनाव र युद्धका कारण आपूर्ति शृंखलामा थप दबाब पर्न सक्ने आकलन गर्दै सरकारले समयमै तयारी गर्नुपर्ने धारणा विपक्षी दलहरूले व्यक्त गरेका छन्।
निर्णयमा बाह्य परिस्थितिका कारण मल आपूर्तिमा थप जटिलता आउन सक्ने भएकाले आगामी वर्षे सिजनका लागि आवश्यक परिमाणको रासायनिक मल खरिद, भण्डारण र वितरण व्यवस्थापन तत्काल सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
विपक्षी दलहरूले कृषि उत्पादन र किसानको हितलाई ध्यानमा राखी आपूर्ति व्यवस्थापनमा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।







