काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह तथा वडा तहमा सञ्चालन भइरहेका पार्टी अधिवेशन तथा निर्वाचन प्रक्रियाहरू तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले केही स्थानमा विवाद उत्पन्न भई उजुरी दर्ता भएकाले ती क्षेत्रको निर्वाचन प्रक्रिया हाललाई स्थगन गर्ने निर्णय गरेको हो।
आयोगका प्रमुख भुवन केसीका अनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका तथा सोही जिल्लाका अन्य विवादित स्थानीय तह र वडाहरूमा प्रक्रिया रोकिएको छ।
त्यसैगरी मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानीय तह तथा वडा तहमा देखिएको विवादका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। महोत्तरी जिल्लाका जलेश्वर, एकडारा, मतिहानी, मनरा शिसवा र पिपरा लगायतका स्थानीय तहमा पनि छानबिन आवश्यक देखिएको आयोगले जनाएको छ।
धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका र गणेशमान चारनाथ नगरपालिका क्षेत्रसमेत विवादका कारण स्थगन सूचीमा परेका छन्। सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिकामा पनि निर्वाचन प्रक्रिया रोकिएको उल्लेख गरिएको छ।
आयोगले ती स्थानमा देखिएका विवाद समाधान भइसकेपछि मात्र निर्वाचन प्रक्रिया पुनः अघि बढाइने स्पष्ट पारेको छ। साथै, निर्देशन विपरीत कुनै गतिविधि भएमा त्यसलाई मान्यता नदिइने चेतावनी समेत दिइएको छ।
आयोगका प्रमुख केसीका अनुसार पार्टीभित्रको निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक बनाउन आवश्यक भएकाले छानबिन नसकिएसम्मका लागि यो निर्णय गरिएको हो। अन्य क्षेत्रहरूमा भने निर्वाचन प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहने जनाइएको छ।








