बारा । सिम्रौनगढ नगरपालिकाको ११औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड ६३ लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाका जनप्रतिनिधिहरूको वर्तमान कार्यकालमा पहिलोपटक शान्तिपूर्ण, सौहार्दपूर्ण तथा सहमतिपूर्ण वातावरणमा सम्पन्न गरेको हो ।
असार ६ गते सम्पन्न नगरसभाको अध्यक्षता नगर प्रमुख किशोरी साह कलवारले गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख नजमु शेहर, सहायक प्रमुख तथा शिक्षा शाखा प्रमुख वीरबहादुर साह लहेरा, लेखा प्रमुख मनीष साह कलवार, वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
नगरपालिकाका अनुसार विगतका नगरसभाहरूमा पटक–पटक देखिँदै आएको विवाद, अवरोध र असहमतिलाई यसपटक अन्त्य गर्दै सम्पूर्ण जनप्रतिनिधिको सहभागितामा सभा सम्पन्न भएको हो। नगरसभाले पारित गरेको बजेटमध्ये कार्यसञ्चालन तथा प्रशासनिक खर्चतर्फ १७ करोड २७ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ ११ करोड ५० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ३ करोड २६ लाख रुपैयाँ तथा सामाजिक विकासतर्फ २९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका कार्यक्रमका लागि २५ लाख ८० हजार रुपैयाँ छुट्याइएको छ।
सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद तथा सामाजिक सुरक्षा र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
नगरसभाको वातावरण र पछिल्लो सुधारबारे बोल्दै वडा नं. ४ का अध्यक्ष अवधेश कुमार सहनीले आफ्नो चार वर्षे कार्यकालमा यति व्यवस्थित नगरसभा पहिलोपटक देखेको बताए। उनले भने, “मेरो कार्यकालको चार वर्षमा योभन्दा राम्रो अवस्था कहिल्यै देखिएन। चार वर्षसम्म नगरपालिका विवादै विवादमा रह्यो। संघ, प्रदेश र स्थानीय तहको मूल्याङ्कनमा समेत हामी कमजोर अवस्थामा थियौँ। कतिपय विवादले जटिल अवस्था सिर्जना गरेको थियो। अहिले नगरसभा समयमै सम्पन्न हुनुमा प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीको महत्वपूर्ण भूमिका छ।”
उनले विगतमा नगरपालिकामा स्थायी नेतृत्वको अभाव, प्रशासनिक अस्थिरता तथा विभिन्न विवादका कारण काम प्रभावित भएको उल्लेख गर्दै पछिल्लो समय नियमित बैठक, योजना अनुगमन, कानुनअनुसार भुक्तानी प्रक्रिया तथा प्रशासनिक सुधारका काम अघि बढेको बताए। “पहिला वर्षमा दुई–तीनवटा मात्रै बैठक हुन्थे, अहिले नियमित बैठक बस्ने गरेको छ। योजना अनुगमनदेखि बजेट कार्यान्वयनसम्म प्रक्रिया सुधारिएको छ,” उनले भने।
प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले भने जनप्रतिनिधिहरूबीचको सहमति, समन्वय र संवादकै कारण नगरसभा समयमै सम्पन्न हुन सकेको बताए। “कानुनी व्यवस्था, स्थानीय तहको जिम्मेवारी र जनप्रतिनिधिको भूमिकाबारे निरन्तर छलफल गर्यौँ। जनताको सेवा र सुशासनका लागि समयमै निर्णय र कार्यक्रम आवश्यक हुन्छ भन्ने विषय सबैले सकारात्मक रूपमा लिनुभयो। त्यसैले नगरसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सम्भव भयो,” उनले भने।
अधिकारीले कर्मचारी प्रशासनमा निष्पक्षता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकता दिएको पनि बताए। “कर्मचारीले खटाएको ठाउँमा बिना कुनै स्वार्थ र पूर्वाग्रह कानुनअनुसार काम गर्ने हो भने धेरै समस्या नहुने रहेछ। छोटो अवधिको अनुभवले पनि त्यही सिकाएको छ,” उनले भने।
नगरसभामा सहभागी जनप्रतिनिधिहरूले यसपटकको सभा विवादरहित रूपमा सम्पन्न हुनु प्रशासनिक समन्वय, निरन्तर संवाद र समयमै भएको तयारीको परिणाम भएको बताएका छन्। उनीहरूले समयमै नगरसभा सम्पन्न हुनु स्थानीय सरकारको संस्थागत क्षमता, वित्तीय अनुशासन र सेवा प्रवाह सुधारको सकारात्मक संकेत भएको उल्लेख गरेका छन्।
सिम्रौनगढ नगरपालिका बाराका १६ स्थानीय तहमध्ये चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम समयमै प्रस्तुत गर्ने स्थानीय तहमध्ये एक बनेको छ। नगरपालिकाले आगामी वर्ष सामाजिक विकास, पूर्वाधार विस्तार, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।







