काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले निजामती सेवा ऐन र नियमावली संशोधनको क्रममा छुट्टै ‘विज्ञान प्रविधि सेवा’ समावेश गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। उनले प्रस्तावित सेवाअन्तर्गत समावेश गरिने विषयगत क्षेत्रहरूको सूची सार्वजनिक गर्दै छुटेका विषय भए सुझाव दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत बुधबार सार्वजनिक गरेको जानकारीमा मन्त्री पुनले हालको निजामती सेवा ऐन र नियमावली संशोधनको काम भइरहेको उल्लेख गर्दै विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न शैक्षिक र प्राविधिक विधालाई समेटेर नयाँ सेवा गठन गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
उनले प्रस्तावित सूचीमा भौतिक विज्ञान, रसायनशास्त्र, जीवविज्ञान, वातावरण विज्ञान, भू-गर्भशास्त्र, मौसम विज्ञान, जलवायु परिवर्तन, अन्तरिक्ष प्रविधि, एयरोस्पेस इन्जिनियरिङ, खगोलशास्त्र, प्रविधि, माइक्रोबायोलोजी, रोबोटिक्स, नानोप्रविधि, जेनेटिक इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, नवीकरणीय ऊर्जा, कम्प्युटर विज्ञान तथा सूचना प्रविधिलगायतका विषय समावेश गरिएको बताएका छन्।
त्यस्तै, सूचीमा फरेन्सिक विज्ञान, प्राकृतिक विपद् अध्ययन, सेमिकन्डक्टर, मेसिन लर्निङ, बिग डाटा विश्लेषण, इन्टरनेट अफ थिङ्स, अटोमेसन, चिप डिजाइन, ड्रोन प्रविधि, भर्चुअल तथा अग्मेन्टेड रियालिटी, हरित प्रविधि, पेटेन्ट व्यवस्थापन तथा कृत्रिम बुद्धिमत्ता जस्ता उदाउँदा प्रविधिका क्षेत्रहरू पनि समेटिएका छन्।
मन्त्री पुनले सूचीमा कुनै विषय छुटेको भए ९८४५३३०४४२ नम्बरमा एसएमएसमार्फत तत्काल जानकारी गराउन सम्बन्धित विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवालासँग आग्रह गरेका छन्।
सरकारले निजामती सेवाको संरचनामा विज्ञान तथा प्रविधि क्षेत्रलाई संस्थागत रूपमा समेट्ने तयारी थालेको सन्दर्भमा मन्त्री पुनले सार्वजनिक रूपमा सुझाव मागेका हुन्।






