काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यालय समयमै भएको सामूहिक आक्रमणको विरोध गर्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
गाउँपालिकाका सम्पूर्ण कर्मचारीले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ११ बजे प्रमुख प्रशासकीय अधिकृत आफ्नो कार्यकक्षमा कार्यरत रहेका बेला निर्माण व्यवसायी किङफिसर कन्स्ट्रक्सनका प्रतिनिधिसहित ६ जनाको समूहले कार्यालयमै प्रवेश गरी कुटपिट तथा ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा उक्त समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक हमला गर्नुका साथै परिवारलाई समेत नछाड्ने भन्दै धम्की दिएको उल्लेख छ। आफ्नो पदीय जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि भएको यस्तो घटनाप्रति गाउँपालिकाका सम्पूर्ण कर्मचारीले गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
कर्मचारीहरूले कार्यालय परिसरमै भएको घटनाले कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाउँदै दोषीमाथि कानुनी प्रक्रिया अघि नबढेसम्म कार्यालयको नियमित कामकाज गर्न असहज हुने बताएका छन्।
यस्ता घटना भविष्यमा दोहोरिन नदिन कार्यालयमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा कर्मचारीले निर्धक्क रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ।
उक्त विज्ञप्तिमा गाउँपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।







