काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-५ स्थायी घर भई हाल काठमाडौँको बौद्ध बस्ने ३८ वर्षीय सरोज पन्त र रामेछापको लिखु तामाकोसी गाउँपालिका-२ स्थायी घर भई हाल टोखा बस्ने २२ वर्षीय अनिल खत्री रहेका छन्।
प्रहरीका अनुसार सरोज पन्तले एक जनालाई आयरल्यान्डमा आकर्षक तलबसहितको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर १६ लाख रुपैयाँ लिएका थिए। रकम बुझाएपछि उनी सम्पर्कविहीन बनेका थिए। उनलाई असार १९ गते काठमाडौँ महानगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी अनिल खत्रीले छ जनालाई संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने आश्वासन दिई विभिन्न रकम संकलन गरेर कुल २३ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई असार १८ गते टोखा नगरपालिका-६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा दुवै जना लामो समयदेखि सम्पर्कविहीन रहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन आधिकारिक प्रक्रिया र स्वीकृत माध्यमबाट मात्र वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






