काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको स्थलगत निरीक्षण गर्दै संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आवश्यक सुधारका काम अघि बढाउन निर्देशन दिएकी छन्।
निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको भौतिक अवस्था, हात्ती संरक्षणका लागि भइरहेका गतिविधि तथा व्यवस्थापन प्रणालीबारे जानकारी लिएकी थिइन्। उनले केन्द्रको सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विस्तार तथा सुधारका कार्यक्रम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।
उनले हात्ती प्रजनन केन्द्रलाई दीर्घकालीन रूपमा ‘एलिफेन्ट सेन्चुरी’का रूपमा विकास गरी वन्यजन्तु संरक्षण र पर्यावरणीय पर्यटनसँग आबद्ध गर्ने अवधारणामा काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।
प्राकृतिक वासस्थानमै हात्ती संरक्षण, जैविक विविधताको प्रवर्द्धन र दिगो पर्यटन विकासलाई एकीकृत गर्दै योजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मन्त्री चौधरीले संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइन्।
उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई समन्वित रूपमा अघि बढाएर चितवनलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।







