काठमाडौँ। न्यायपरिषद्ले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।
परिषद्को बिहीबार बसेको बैठकले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गर्ने निर्णयसँगै विभिन्न न्यायिक निकायका नेतृत्व परिवर्तनका लागि सरकारलाई परामर्श दिएको हो।
हाल विशेष अदालतको अध्यक्षको जिम्मेवारीमा रहेका न्यायाधीश सुदर्शनदेव भट्टको स्थानमा आचार्यलाई नियुक्त गर्न सिफारिस गरिएको हो।
बैठकले राजस्व न्यायाधिकरणका अध्यक्ष तथा कानुन सदस्य पदमा पनि न्यायाधीशहरू तोक्न सरकारलाई सुझाव दिएको छ। जसअनुसार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौँस्थित राजस्व न्यायाधिकरण, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई पोखरा र उच्च अदालत विराटनगरका न्यायाधीश दीपेन्द्रबहादुर बमलाई विराटनगरस्थित राजस्व न्यायाधिकरणमा जिम्मेवारी दिन सिफारिस गरिएको छ।
त्यस्तै, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न पनि न्यायपरिषद्ले सरकारसमक्ष सिफारिस गरेको छ।







