काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो एक दशकको राजनीतिक अवस्था पार्टी र देश दुवैका लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् ।
काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले २०७२ देखि २०८२ सालसम्मको अवधिमा राजनीतिक मूल्य, सिद्धान्त र जनसरोकारका विषयभन्दा सत्ता तथा शक्तिको प्रतिस्पर्धा हाबी भएको धारणा व्यक्त गरेका हुन् ।
महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तक विमोचन समारोहमा उनले उक्त अवधिलाई काँग्रेसको इतिहास र राष्ट्रिय राजनीतिका दृष्टिले कठिन समयका रूपमा चित्रण गरे ।
थापाले राजनीतिक दलहरूले सत्ता केन्द्रित गतिविधिलाई प्राथमिकता दिँदा नागरिकका समस्या र मुलुकका महत्वपूर्ण मुद्दा ओझेलमा परेको बताए । उनका अनुसार पछिल्लो दशकमा राजनीतिक नेतृत्वले सिद्धान्त र आदर्शभन्दा शक्ति प्राप्तिलाई केन्द्रमा राखेको देखिएको छ ।
उनले आफू भने राजनीतिक सिद्धान्तप्रतिको प्रतिबद्धताका कारण निरन्तर संघर्ष गर्दै आएको दाबी गरे । सिद्धान्तका लागि कठिन परिस्थिति सामना गर्न तयार रहने राजनीतिक संस्कारबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।
सभापति थापाले पछिल्लो दशकको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति उत्साह र विश्वास बढाउन नसकेको समेत उल्लेख गरे । युवापुस्ताले राजनीतिक दल र नेतृत्वप्रति सकारात्मक धारणा बनाउन कठिनाइ भोग्नुपरेको उनको भनाइ थियो ।
उनले पार्टीभित्र विचार, नीति र सिद्धान्तको बहसलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा राजनीतिक संस्कार सुधारमा जोड दिनुपर्ने बताए ।







