काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएकी छिन् । डुवान हुने क्षेत्रको मंगलबार अनुगमन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन् । अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए ।
अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ । निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । प्रारम्भिक अवस्थामा यही कारणले डुवान भएको देखिन्छ । तर, कारण यति मात्र होइन । अधिकारीहरूले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध हुन सक्ने अनुमान गरिएको छ ।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुवान मुक्त बनाइने बताइन् ।







