काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८५ साल भदौ मसान्तसम्म यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको हो।
त्यस्तै, विमानस्थलमा उपलब्ध गराइने ग्राउण्ड ह्याण्डलिङ सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार, वैकल्पिक विमानस्थलको प्रभावकारी उपयोग तथा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन क्षमता बढाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।







