काठमाडौँ । मदाने गाउँपालिकाले संघ तथा प्रदेश लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
गाउँपालिकाको कार्यालय कोटदह, गुल्मीले एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा वैकल्पिक सूचीमा रहेका योग्य उम्मेदवारबाट करार नियुक्तिका लागि आवेदन माग गरेको हो ।
गाउँ कार्यपालिकाको २०८३ साल साउन ४ गतेको निर्णय अनुसार प्रकाशित सूचनामा सम्बन्धित पदको वैकल्पिक सूचीमा रहेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।
गाउँपालिकाका अनुसार प्रशासन सेवातर्फ सहायक पाँचौँ तहमा २ जना र सहायक चौथो तहमा २ जना कर्मचारी आवश्यक रहेको छ । त्यस्तै नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहअन्तर्गत सब–इन्जिनियर पाँचौँ तहमा १ जना तथा असिस्टेन्ट सब-इन्जिनियर चौथो तहमा २ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
यसैगरी नेपाल विविध सेवाअन्तर्गत महिला विकास निरीक्षक सहायक पाँचौँ तहमा १ जना र नेपाल कृषि सेवाअन्तर्गत सहायक पाँचौँ तहमा १ जना कर्मचारी करारमा नियुक्त गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न सम्बन्धित वैकल्पिक सूचीका उम्मेदवारलाई अनुरोध गरेको छ ।







